औषधि व्यवस्था विभागले एन्टीबायोटिक औषधिको लेवलमा रातो धर्का (रेडलाइन) राख्ने व्यवस्था पालना गर्न औषधि उत्पादक कम्पनीहरुलाई अनुरोध गरेको छ ।
विभागले एक सूचना जारी गरी सबै किसिमको एन्टीबायोटिक औषधिमा रातो धर्का राख्ने व्यवस्थाको पालना गर्न निर्देशन दिएको हो।
औषधी सल्लाहकार समितिको सिफारिसमा विभागले ११ भदौ २०८० यस सम्वन्धी अनुरोध गरे पनि त्यसको राम्ररी कार्यान्वयन नभएको भन्दै पुन सार्वजनिक सूचनामार्फत अनुरोध गरेको हो ।
विभागले प्रतिजैविक औषधीहरुको अधिक प्रयोग, न्युन प्रयोग तथा अनावश्यक प्रयोगले गर्दा प्रतिजैविक प्रतिरोधलाई न्युनिकरण गर्न विश्वव्यापी प्रचलनमा नै प्रतिजैविक औषधीहरुको प्राइमरी र सेकेण्डरी प्याकिङ्ग लेभलमा रातो धर्का लगाउने रहेको स्पष्ट पारेको छ ।
एन्टीबायोटिक औषधिहरु चिकित्सकको सिफारिसमा मात्र बिक्रि वितरण गर्न विभागले आग्रह गरेको छ। चिकित्सकको सिफारिस बिना उक्त औषधिहरु बिक्रि वितरण गरेको पाइएमा कानून बमोजिम कारबाही समेत गरिने सूचनामा उल्लेख छ।
‘यदी कसैले कानून बर्खिलाप चिकित्सकको सिफारिस बिना उक्त औषधिहरु बिक्रि वितरण गरेको पाइएमा कानून बमोजिम कारबाही गरिने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराईन्छ।’ सूचनामा भनिएको छ।
नेपालका सन्दर्भमा रातो धर्का कम्पनी पिच्छे फरक फरक रहेको भन्दै सामान्य उपभोक्तले समेत सो पहिचान गर्न असहज भएको गुनासो प्राप्त भएको विभागले उल्लेख गरेको छ ।
विभागले रातो धर्का कार्यान्वयन नगर्ने उत्पादक माथि कार्वाही गर्ने समेत उल्लेख गरेकोछ ।