काठमाडौँ । हरेक बर्ष मार्च २४ का दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । यस वर्षको नारा ‘हो! हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ ।
क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ । क्षयरोग माइक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो । क्षयरोग भएका बिरामीले खोक्दा, हाछ्युँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ । क्षयरोगबाट ७२ प्रतिशत फोक्सोलाई सङ्क्रमण गर्छ । यस्तै मुटुको बाहिरी झिल्ली, मासु, जोर्नी, मस्तिष्कमा पनि क्षयरोगले असर गर्दछ ।
सरकारले सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्ममा मुलुकलाई क्षयरोग मुक्त घोषणा गर्ने लक्ष्य लिएको छ । सन् २०२३ मा विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा अनुमानित ६८ हजार नयाँ क्षयरोग प्रभावित व्यक्तिहरू थिए, जसको दर प्रति एक लाख जनसङ्ख्यामा २२९ रहेको थियो । त्यसैगरी क्षयरोगका कारण १६ हजारको मृत्यु भएको अनुमान गरिएको छ । जसको मृत्युदर प्रति एक लाख जनसङ्ख्यामा ५४ थियो ।
नेपालभर क्षयरोग उपचारका सेवा छ हजार २४१ स्वास्थ्य संस्था र निदानका सेवा ८०० स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छन् । औषधि प्रतिरोधी बिरामीको लागि इन्जेक्सनरहित छोटो अवधिको, छ महिने उपचार ‘रेजिमेन’ उपलब्ध गराएको छ । औषधिको नियमित सेवनले क्षयरोग निको हुने चिकित्सकहरुको भनाइ छ ।