काठमान्डौँ । ईशान बाल तथा महिला अस्पतालमा कोल्याबिरेटिभ प्र्याक्टिस अन इन्टरनेसनल पेडियाट्रिक सर्जिकल(Collaborative Practice on International Pediatric Surgical workshop) कार्यशाला सम्पन्न भएको छ ।
ईशान अस्पतालका बाल शल्य चिकित्सक प्रा.डा.रामनन्दन प्रसाद चौधरी र लाइपजिग विश्वविद्यालय जर्मनीका सर्जन डा. मार्टिन लाचर तथा उनका टिमका डा. डाइटमार जुर्गेन क्रास को संयुक्त सहकार्यमा पाँच दिने (अन्तर्राष्ट्रिय बाल शल्यक्रिया सम्बन्धित) कार्यशाला सम्पन्न भएको थियो ।
उक्त कार्यशालामा विभिन्न बाल शल्य सम्बन्धका बिरामीहरुको सम्पूर्ण जाँच, बाहिरंग सेवा, अन्तरंग सेवा, परामर्श सेवा तथा शल्यक्रिया निःशुल्क गरेको थियो । साथै सो बिरामीहरुलाई अस्पतालले निःशुल्क औषधी समेत वितरण गरेको थियो।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा चौधरीले यस अस्पतालले सो कार्यशालामा जाँच गरेको बिरामीको बारेमा प्रकाश पार्दै यस्तो किसिमको सहकार्यले आधुनिक उपचारको पद्धतिबाट भविष्यमा नेपालको बाल शल्यक्रियाको गुणस्तर अन्तराष्ट्रियस्तरको हुने जानकारी गराए । उनले पेडियाट्रिक सर्जरी फेलोज तथा रजिष्ट्रार पेडियाट्रिक सर्जनहरु समेतले शल्यक्रिया सिक्ने अवसर प्राप्त भएको बताए ।

