काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा गर्भवती तथा नवजात शिशुमा देखिएको कुपोषणमा कमी ल्याउनका लागि एक अमेरिकी परोपकारी संस्थासँग सहकार्यका लागि प्रस्ताव गरेका छन् ।
अहिले गर्भवतीहरुलाई आइरन चक्की र फोलिक एसिड दिँदै आएको भए पनि त्यसमा अन्य विभिन्न १५ तत्व अभाव रहेको विज्ञहरूले बताउने गरेका छन् । त्यसैले मन्त्री पौडेलले अमेरिकी सहायता संस्था एलेनर क्रुक फाउण्डेसनका प्रमुख कार्यकारी तथा अनुसन्धान निर्देशक विलियम मुरसँग पेरिसस्थित नेपाली दूतावासमा वार्ता गर्दै यस्तो आग्रह गरेका हुन्।
कुपोषित आमाले बच्चा जन्माउँदा मृत्युको जोखिमसमेत बढ्ने गरेको छ । कुपोषणका कारण बच्चाको शारीरिक तथा मानसिक विकास प्रभावित भएको छ। कम उमेरमा विवाह गर्ने, बच्चा जन्माउने, पोषणयुक्त खाना खान नसक्ने तथा खाने र खुवाउने तरिका नमिल्दा पनि धेरै महिला र बालबालिकामा कुपोषण देखिएको छ । त्यसैले गर्भवती तथा नवजात शिशु दुवैमा कुपोषणमा कमी ल्याउन अहिले खुवाइने आइरन चक्कीको साटो कमी देखिएका १५ वटै तत्वको मिश्रण दिने सरकारको तयारी छ ।
यसका लागि सहकार्य गर्न मन्त्री पौडेलले गरेको आग्रहमा अमेरिकी परोपकारी संस्थाले सकारात्मक प्रतिक्रिया दिएको भ्रमणमा सहभागी परिवार कल्याण महाशाखा प्रमुख डा विवेककुमार लालले बताए । केही महिनाभित्रै सहकार्य गर्न सकिने गरी खाका बनेको उनले बताए ।