काठमाडौँ । आँखा उपचार सेवाको विकास र विस्तारका लागि नेपाल नेत्रज्योति सङ्घ र थाइल्याण्डको महिडोल युनिभर्सिटीका बीचमा आपसी सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्को समुपस्थितिमा आँखा उपचार सेवाको विकास र विस्तारका लागि ज्ञान, विशेषज्ञता र प्रविधिहरू आदान–प्रदानका लागि दुई संस्थाहरूबिच बैँककमा आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी भएको यहाँस्थित नेपाल नेत्रज्योति सङ्घले जनाएको छ ।
नेपाल नेत्रज्योति सङ्घ नेपालकै अग्रणी गैरसरकारी संस्था रहेको छ । यसले सुलभ र गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । दुई संस्थाका बीचमा भएको यो समझदारीले उच्च गुणस्तरको आँखा उपचार सेवा प्रदान गर्ने र यस क्षेत्रभरि रोकथाम गर्न सकिने अन्धोपन कम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास सङ्घले लिएको छ ।