काठमाडौँ । मातृ तथा नवजात शिशुको उपचार तथा स्याहारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले सिमुलेशन ल्याब सञ्चालनमा ल्याएको छ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको मातृ तथा नवजात शिशु सिमुलेसन ल्याबको उद्घाटनका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मातृ तथा शिशु मृत्युदर घटाउन नेपाल उल्लेखनीय रुपमा सफल भएको उल्लेख गर्नुहुँदै आगामी बजेटमा सरकारले प्रसूति उपचारलाई प्राथमिकतामा राख्ने गरी नै बजेट विनियोजन गरिने बताए। मन्त्री पौडेलले नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ निरन्तर रुपमा अघि बढ्नुपर्ने बताए ।
मन्त्री पौडेलले आमा र शिशु दुवैको ज्यान सुरक्षित बनाउन क्षमतावान जनशक्ति उत्पादनमा ल्याबले महत्वपूर्ण योगदान खेल्ने विश्वास व्यक्त गर्दै अब बाँकी ६ प्रदेशमा पनि मातृशिशुका लागि विशिष्टकृत सेवा र जनशक्ति विकासलाई अगाडि बढाउँछौं,’’ उनले भने।
परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालले प्रसूती तथा स्त्रीरोग र नवजात शिशु सम्बन्धि केन्द्रिय अस्पतालको रुपमा सेवा प्रदान गर्दै नेपाल र नेपालीको मातृ-शिशु स्वास्थ्य क्षेत्रमा अमुल्य योगदान पुर्याउदै आएको अस्पतालका निर्देशक डा. श्री अधिकारीले बताए। । यो ल्याब अस्पतालको कुपन्डोल शाखामा सञ्चालनमा ल्याइएको छ । यस ल्याबले देशैभरका मातृ शिशु उपचारमा संल्गन जनशक्तिलाई केन्द्रीयस्तरको स्तरीय तालिम प्रदान गर्न सहजता मिलेको उनले बताए ।
वन हर्ट वर्ल्डवाइडको सहयोगमा निर्माण भएको सिमुलेशन ल्याव राज्यकै उत्कृष्ट प्रयोगात्मक प्रयोगशालाको रुपमा निर्माण भएको छ उनले बताए । ल्याबमार्फत नर्सिङ्ग, अनमी, मिडवाइफ तथा चिकित्सकहरुको सिकाइका लागि उपयोग हुने ल्याबमा उपचारका अभ्यास सञ्चालन गर्न सकिन्छ।
सिमुलेशन ल्यावको उपयोगिताहरु
- मातृ शिशु स्वास्थ्य सेवा प्रदायकहरुका लागि चिकित्सकिय विधिहरुको अभ्यास गर्न यस प्रयोगशालाले सहजता ल्याउने छ ।
- यसबाट वास्तविक सेवा प्रदान स्थल जस्तै गर्भवती परिक्षण कक्ष, प्रसव कक्ष, सुत्केरी परिक्षण कक्ष र नवजात शिशु हेरचाह इकाईको यर्थाथपरक वातावरण सिर्जना गर्दछ ।
- वास्तविक सिकाईको लागि नियन्त्रित वातावरण प्रदान गर्ने, प्रयोगशाला प्रशिक्षार्थीहरुलाई दक्षता हासिल नभए सम्म बारम्बार निरन्तर रुपमा सिप अभ्यास गर्न सकिने वातावरण हुन्छ ।
- यस प्रयागशालाले चिकित्सकिय सिप सिक्ने तथा सिकाउने र नयाँ सिपमा दक्षता विकास गर्न एवं उच्च सीपयुक्त रही कार्यसम्पादन गर्न मद्धत गर्दछ ।
- सिमुलेशन ल्यावको स्थापना तथा उपयोगले मातृ शिशु स्वास्थ्य सेवाको गुणस्तरीयतामा सुधार ल्याउदछ ।