काठमाडौँ । चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकनका लागि कार्यदल गठन गरेको छ ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १८ औँ बैठकले निजी मेडिकल कलेजमा एमबिबिएस र बिडिएसको सिट संख्या र शुल्क संरचना पुनरावलोकनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ ।
एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेजले आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता उपलब्ध गराउन कठिनाइ हुने विषयमा ध्यानाकर्षण गराएको र विद्यार्थीहरुले उक्त भत्ता नपाइए पुनः आन्दोलन गर्ने चेतावनी दिएको सन्दर्भमा प्रधानमन्त्री ओलीको अध्यक्षतामा आयोगको बैठक बसेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेको संयोजकत्वमा १० दिनभित्र राय सुझाव पेस गर्न कार्यदल गठन गरिएको हो । कार्यदलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटा, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शिक्षा शास्त्र संकायका डीन डा मोहन शर्मा, काठमाडौँ विश्वविद्यालय, चिकित्सा शास्त्र संकायका डीन डा मनोज हुमागाईँ, विज्ञहरु डा भगवान कोइराला, डा रमेशकान्त अधिकारी, डा दिव्यासिंह शाह, डा मंगल रावलल तथा नेपाल मेडिकल कलेजका अध्यक्ष डा अनिल कार्की र एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेजका अध्यक्ष डा ज्ञानेन्द्र कार्की सदस्य रहेका छन् ।