काठमाडौँ । सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क भ्याक्सिन वितरण प्रक्रिया आरम्भ भएको छ ।
भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई भ्याक्सिन सहयोग हस्तान्तरण गरेका छन् । थारु समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क भ्याक्सिनका लागि मन्त्री पौडेलको पहलपछि भारत सरकारले बिरामीको प्रतिरोधी क्षमता वृद्धिका लागि दिने भनिएको भ्याक्सिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राप्त गरेको छ ।
भारत भ्रमणका क्रममा त्यहाँका स्वास्थ्य मन्त्री जेपी नड्डासँगसमेत यसबारे कुराकानी भएको थियो । यसलगत्तै भारत सरकारले बिरामीहरूका लागि उपलब्ध हुने गरी विभिन्न प्रकारका चार लाख डलर मूल्य बराबरको भ्याक्सिन उपलब्ध गराएको हो ।
थारु समुदायले वंशाणुगत रुपमा समस्या भोग्दै आएको यो रोगको उपचार सहज बनाउन यसै वर्ष राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा भेरि अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना गराउने मन्त्री पौडेलले निर्णय गरेका थिए ।
यो रोगले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको संख्या घटाउँदै लान्छ । सिकलसेल एनिमिया भएमा शरीरमा रगत बन्ने प्रक्रिया ढिलो हुन्छ, जसका कारण शरीरमा विभिन्न समस्या निम्तन्छ । एक पटक शरीरमा यो प्रणाली विकास भएमा एक देखि पचास वर्षसम्म पनि जुनसुकै समयमा रोगका लक्षण देखापर्न सक्छ ।
भेरी अस्पताल, सेती प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै टिकापुर अस्पताल लगायतका संघीय, प्रदेश तथा पालिकास्तरका अस्पतालमा समेत बिरामीहरूका लागि उपलब्ध गराउने गरी तयारी गरिएको प्रवक्ता बुढाथोकीले बताए । उनले थारु समुदाय बहुल बसोबास रहेको बाँके, बर्दिया, कैलाली तथा दाङका बिरामीहरूलाई भ्याक्सिन वितरण गर्ने तयारी मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको बताए ।