काठमाडौँ। कर्णाली प्रदेशको हिमाली जिल्लामा पनि औलो रोगको सङ्क्रमण देखिन थालेको छ ।
तराई तथा भित्री मधेसमा देखिने औलो रोग हिमालसम्म फैलिन थालेको छ । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले विश्व औलो रोग दिवसका अवसरमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार हुम्ला अदानचुलीको ताजाकोट गाउँपालिकामा दुई जनामा औलो सङ्क्रमण देखिएको हो ।
कर्णालीमा स्थानीय औलो नियन्त्रण हुँदै गएको भए पनि खुला सीमाका कारण भारतबाट आयातित औलोको न्यूनीकरण गर्न निकै चुनौती रहेको निर्देशनालयले जनाएको छ ।
पछिल्लो समय सडक सञ्जाल विस्तार तथा लामखुट्टे हुर्कर्ने खालको वातावरण बन्दै गएपछि हिमाली जिल्लामा औलो संक्रमण देखिन थालेको हो। तथ्यांक अनुसार हुम्लाका तीन वडा औलो संक्रमणको उच्च जोखिममा रहेको पाइएको छ। कर्णालीमा ६ वर्षको अवधिमा दुई सय ३१ औलो रोग पुष्टि भएको छ। चालु आर्थिक वर्ष २०८१/०८२ मा ३८ व्यक्तिमा औलो संक्रमण पुष्टि भएको छ।