काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई श्वासप्रश्वासको विशिष्टिकृत अस्पताल बनाउन लागिएको बताए ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा स्थापना गरिएको जिपी लायन्स डायलासिस केन्द्रको उद्घाटन गर्दै मन्त्री पौडेलले यो अस्पताललाई विशिष्टिकृत अस्पताल बनाउन सकिए नेपाल बाहिरबाट पनि उपचारका लागि मानिसहरु आउने बताए । अस्पताललाई ३०० शय्या क्षमताको अस्पताल विस्तार गर्न लागिएको उनको भनाइ थियो ।
नेपालमा यो बाहेक विशिष्टिकृत उपचार गर्ने अस्पतालमा अर्को नभएको उल्लेख गर्दै उनले यस अस्पताललाई त्यस ढङ्गबाट विकास गर्नुपर्ने आवश्यकता रहेको बताए। नेपालको स्वास्थ्य क्षेत्रमा लायन्स क्लवले ठूलो सहयोग गरेको भन्दै सामाजिक उत्तरदायित्वमा क्लवको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे ।