नेपालगञ्ज । चिकित्सक र स्वास्थ्यकर्मीले नै हात्तीपाइले रोग विरुद्धको औषधि सेवन नगरिदिएका कारण हात्तीपाइले रोग निवारण चुनौतीपूर्ण बनेको छ ।
ठूला अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, शिक्षक लगायतका पढेलेखेकै वर्ग समुदायले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन नगरिदिएका कारण नेपालमै हात्तीपाइले रोग निवारण चुनौतीपूर्ण बनेको हो ।
नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले राष्ट्रिय हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान सम्बन्धी गैरसरकारी सङ्घ/संस्थासँगको अन्तरक्रियामा महाशाखा प्रमुख राम बहादुर चन्दले जाने बुझेका व्यक्तिबाटै अभियानमा असहयोग भइरहेको गुनासो सुनाए । बाँकेमा विगत १३ वर्षदेखि हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान चलिरहेको छ ।
६ वर्षमै अभियान सकिने भए पनि सबै मानिसहरूले औषधि नखाइदिएका कारण निवारण अभियान प्रभावित छ । बाँकेमा समुदाय स्तरमै हात्तीपाइले रोगको संक्रमण रहेको परीक्षणका क्रममा पुष्टि भइसकेको छ । औषधि सेवन गर्नेले सेवन गरिरहने तर नगर्नेले गर्दै नगर्ने गरेका कारण अभियान निष्कर्षमा पुग्न सकेको छैन ।
कतिपयलाई औषधिबारे जानकारी नै नभएर, कतिपयलाई औषधिको असरको डर र कतिपय अफवाहको पछि लाग्दा खानै पर्ने औषधि नखाइदिएका कारण निवारण चुनौतीपूर्ण देखिएको चन्द बताउनुहुन्छ । नेपालगञ्जमा गएको फागुन ५ गतेदेखि १४औँ चरणको औषधि सेवन अभियान चलिरहेको छ । सबैलाई औषधि खुवाउने गरी समुदायस्तरमा अभियानलाई प्रभावकारी गराउने नीतिका साथ अगाडि बढिएको उनले बताए।
अहिलेसम्म ५३ प्रतिशतले मात्रै औषधि सेवन गरेको पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका वडा नम्बर ३, ४, ५, ७, ८, ९, १३, १६, २१, २२ र २३ मा ५० प्रतिशत भन्दा कमले औषधि खाएका छन् । हात्तीपाइले रोग निवारणका लागि औषधि सेवनको विकल्प नभएको वरिष्ठ जनस्वास्थ्य प्रशासक रामकुमार महतोले बताए ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक डा। रोशनलाल चौधरी, मन्त्रालयका स्वास्थ्य शिक्षा प्रशासन प्रमुख नोदनारायण चौधरी लगायतले हात्तीपाइले रोग विरुद्धको औषधि सेवनका लागि सामूहिक अभियान थाल्न निर्देशन दिए । कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक विनोद विकले गरे थिए।