काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई वितरण गर्ने निःशुल्क औषधि नेपाल आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबिच भएको सम्झौताअनुसार औषधि स्वास्थ्य सेवा विभागमा आइपुगेको छ । सम्झौताअनुसार ५ प्रकारका औषधि आएको र अब वितरण प्रक्रिया सुरु हुने व्यवस्थापन महाशाखा प्रमुख डा। पवनजंग रायमाझीले जानकारी दिए ।
काठमाडौँमा त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल तथा सिभिल अस्पतालमार्फत औषधि वितरण गर्ने भएको छ । यसका साथैआवश्यकताअनुसार वितरण सूची तयार गरी सातै प्रदेशका अन्य थप १० प्रादेशिक अस्पतालहरूमा औषधि पुग्ने व्यवस्था मन्त्रालयले मिलाएको छ ।
निकै महँगो औषधि आवश्यक पर्ने हेमोफिलिया रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफैँ व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए । त्यसअनुसार औषधि व्यवस्था विभागमा महासंघ र मन्त्रालयबिच यससम्बन्धी सम्झौता भएको हो ।
विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब ५ हजार बिरामी रहेको अनुमान गरेको छ । २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपाङ्गता देखिएका मध्ये ०.८ मा हेमोफिलिया भएको हुनसक्ने अनुमान गरिएको छ ।