काठमाडौँ। ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ ।
रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने प्रचलन प्रारम्भ भएको हो ।
आधुनिक र प्रविधियुक्त विश्वमा अन्तरदेशीय र देशभित्र हुने युद्ध, हिंसा, विभेदका कारण मानवता कमजोर हुँदै गइरहेको जनाइएको छ । यसैगरी विश्वमा तापक्रम वृद्धि र जलवायु परिवर्तनको प्रभावका कारण विपद्का घटना, खडेरी र अनिकालका कारण मानवताको रक्षा थप चुनौतीपूर्ण बन्दै गइरहेको छ ।
बढ्दो असमानता, स्वास्थ्य समस्या र द्वन्द्वको वर्तमान विश्वमा मानवीय आदर्शलाई कायम कठिन छ । यस्तो अवस्थामा मानवतालाई जीवित राख्न तथा दया, शान्ति र आशाको सञ्चार विश्वसमुदायमाझ प्रवाह गर्न यो दिवस उपयोगी हुने विश्वास रेडक्रसका स्वयंसेवीहरुले व्यक्त गरेका छन् । यसै सन्दर्भमा यस वर्षको नारा ‘मानवतालाई जीवित राखौँ’ ले यस अनिश्चित, ध्रुवीकृत, द्वन्द्व र विभेदको चपेटामा परेको संसारमा निःस्वार्थ सेवाभाव राखी मानवीय पीडा कम गर्न अहोरात्र खटिने स्वयंसेवकहरूले पु९याउने सेवामार्फत मानवताको दियो जगाइराख्न आवश्यक छ’ भन्ने सन्देश दिन खोजेको छ ।