काठमाडौँ । काठमाडौँको तीनकुनेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते भएका छन् ।
पेप्सीकोलाबाट रत्नपार्कतर्फ आउँदै गरेको बा३ख ७०६२ नम्बरको बसले तीनकुनेमा मारुती भ्यान र मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी नुवाकोट घर भई ललितपुर बस्ने २३ वर्षीया नागिना तामाङको मृत्यु भएको हो ।
तामाङको उपचारका क्रममा मृत्यु भएको र मोटरसाइकल चालक रामेछापको दोरम्बाका २७ वर्षीय पदम थापामगर, भ्यानका चालक काभ्रेपलाञ्चोक मण्डनदेउपुरका ३५ वर्षीय रत्नबहादुर सार्की, ठक्कर दिने बसमा सवार दोलखा गौरीशङ्करकी २४ वर्षीय मेनुका बुढाथोकी घाइते भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले बताए ।
प्रहरीले बस चालक रामकुमार खड्का, भ्यान र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।