काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’ उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा एक भन्दा तलको सङ्ख्यामा कुुष्ठरोगी रहनु सुधारात्मक भए पनि रोग पूर्ण उन्मुलन नभएसम्म आफूहरू सन्तुष्ट नहुने बताए ।
उनले रोग लुकाउनु हुँदैन भन्ने सन्देशसहित आमसञ्चार र सूचना प्रविधिका माध्यमबाट कुष्ठरोग निवारणका लागि जागरण फैलाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह पनि गरे । कुुष्ठरोगजस्ता सङ्क्रामक रोग लागिहालेमा नियमित उपचार गर्ने कार्यलाई जागरणकै रूपमै सञ्चालन गर्न पनि आग्रह गरे ।
सरकारले कुष्ठरोग सम्बन्धी व्यापक रणनीति बनाउन जरुरी रहेको पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले बताएका छन् । उनले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता र जीवनस्तर र सार्वजनिक निर्णय प्रक्रियामा सहभागिता हुने समावेशिताको सिद्धान्त कुष्ठरोगबाट निको भइसकेका व्यक्तिहरूलाई समावेश गर्न जरुरी रहेको बताए ।