सनस्क्रिनले लगाएकै कारणले पनि एलर्जी हुन सक्छन् त्यसैले आफ्नो छाला सुहाउँदो सनस्क्रिन लगाउन जरुरी छ । बजारमा विभिन्न किसिमका सनस्क्रिन पाइन्छन् । सनस्क्रिन सबैभन्दा राम्रो मेडिकलबाट लिएको । सनस्क्रिन रोज्दा एकदमै बास्नादार, रंगीचंगी प्याकेट भएको रोज्नुहुँदैन । औषधीय गुण भएको सनस्क्रिन रोज्नुपर्दछ।
सनस्क्रिन लिँदा पनि कुन एसपिएफको लिने भन्नेमा पनि ध्यान दिनुपर्छ । एसपिएफ अर्थात ‘सन प्रोटेक्सन फ्याक्टर’ । यो भनेको कति विकिरणहरु हाम्रो छालाबाट भित्र गएर असर गर्छ भन्ने मापन हो ।सनस्क्रिनले नराम्रो विकिरणलाई बचाउने काम गर्दछ ।
नेपाल तथा भारतमा प्राय गहुँगोरो छाला हुने भएकाले ३० एसपिएफको सनस्क्रिनले पुग्छ जसले लगभग ९७ प्रतिशत घामको विकिरणबाट बचाउँछ भनिन्छ । त्यसैगरी एकदम गोरो छाला, लुपस भएका र पोतोहरु आइराख्नेलाई ५० एसपिएफ उपयुक्त हुन्छ भनिन्छ । यसले ९८ प्रतिशत जति घामको विकिरणबाट बचाउँछ । अझ बजारमा त २०० एसपिएफसम्मका सनस्क्रिन पनि पाइन्छन् तर धेरै एसपिएफको सनस्क्रिन प्रयोग गर्दैमा घामको विकिरणबाट पुरै बचिने होइन। धेरै प्रयोग गर्ने भन्दा कसरी प्रयोग गर्नेमा यसको प्रभावकारिता देखिन्छ ।
आफ्नो छालालाई मिल्ने अथवा छालामा सुहाउने सनस्क्रिन कसरी छान्ने ?
सनस्क्रिन दुई किसिमका हुन्छन्, फिजिकल सनस्क्रिन र केमिकल सनस्क्रिन । केमिकल सनस्क्रिनले सेन्सेटिभ वा संवेदनशील छालामा चिलाउने, एलर्जी आउन सक्ने भएकाले केमिकल कम भएको सनस्क्रिन लगाउनुपर्ने हुन्छ । चिल्लो छालामा धेरै डन्डिफोर आउँछ त्यसैले जेल बेस सनस्क्रिन लगाएको राम्रो । सुख्खा वा खस्रो छाला भएका मानिसहरूले क्रिम बेस सनस्क्रिन लगाउँदा राम्रो हुन्छ ।
धेरैजसो केमिकल सनस्क्रिनको प्रयोग भइरहेको हुन्छ । यो सनस्क्रिन लगाएको १५ मिनेट देखि आधाघण्टापछि मात्र घाममा जाने, स्वीमिङ गर्ने, चर्को घाममा हिँड्ने गर्दा राम्रो हुन्छ । किनकी यो सनस्क्रिन छालामा सोसिन समय लाग्छ ।
खेलाडीहरुले भने ‘फिजिकल’ सनस्क्रिनको प्रयोग गर्छन् । यो सनस्क्रिन छालामा लगाउनेबित्तिकै काम गरिहाल्छ । एकदम घाममा गइराख्नुपर्ने, पर्वतारोही, गर्भवती तथा बच्चाकोलागि यो सनस्क्रिन उपयुक्त हुन्छ । गर्भावस्थामा केमिकल सनस्क्रिनको प्रयोग गर्नुहुँदैन । २ वर्ष माथिका बच्चाहरुले पनि सनस्क्रिनको प्रयोग गर्न सक्छन् भनिन्छ तर सानो उमेरमा यसको आवश्यकता खासै पर्दैन।
सनस्क्रिनमा केमिकल छ भनेर कसरी थाहा पाउने ?
सनस्क्रिनमा केमिकल त हुन्छ नै । यसैले गर्दा हाम्रो छाला माथि लेयर बनाएर छालालाई घामबाट पर्ने असरबाट बचाउँछ । कुनै सनस्क्रिन लगाएर छालामा नकारात्मक असर पर्यो भने त्यसमा भएको सामग्रीहरू नभएको सनस्क्रिन प्रयोग गर्नुपर्छ ।
सनस्क्रिन लगाउनुभन्दा पहिले आफ्नो छालामा एलर्जी हुन नदिन चेक गरेर मात्र लगाउनुपर्छ । हाम्रो कान पछाडी एकदम पातलो छाला हुन्छ त्यसमा थोरै लगाएर हेर्ने एलर्जी भएन भने त्यो छालालाई उपयुक्त हुन्छ । त्यसैगरी हत्केलाभन्दा माथिको भागको छालामा पनि परीक्षण गर्न सकिन्छ त्यसबाट पनि अन्दाज लगाउन सकिन्छ ।
सनस्क्रिन अनुहार र घाँटीमा ३ देखि ५ ग्राम अर्थात १ चिया चम्चा लगाए पुग्छ । साथै छाला एक्सपोज हुने भाग जस्तै हात तथा खुट्टामा पनि प्रयोग गर्ने । सनस्क्रिन दिनको एकपटक मात्र लगाएर पुग्दैन पटक पटक प्रयोग गर्नुपर्छ । सामान्यतया प्रत्येक २ घण्टामा सनस्क्रिन लगाउनुपर्छ नभए सनस्क्रिन दिनको ३ पटक लगाउन सल्लाह दिन्छौँ ९ बजे, १२ बजे र ३ बजे । यो समय सम्भव भएन भने दिनको दुईपटक प्रयोग गर्नुपर्छ ।