काठमाडौं । कपाल प्रत्यारोपण गर्ने क्रममा भारतमा एक सरकारी इन्जिनियरको ज्यान गएको छ ।
कपाल प्रत्यारोपणको नाममा गरिएको लापरवाहीले भारतको उत्तर प्रदेशका ३७ वर्षीय इन्जिनियर विनीत कुमार दुवेको ज्यान गएको छ। कानपुरस्थित पन्की पावर प्लान्टमा सहायक इन्जिनियरका रूपमा कार्यरत विनीतले कपाल प्रत्यारोपण गराउँदा ज्यान गुमाउनुपरेको हो। टाइम्स अफ इन्डियामा प्रकाशित समाचारअनुसार घटना दुई महिना पुरानो भए पनि भर्खरै उजुरी परेपछि बाहिर आएको हो। विनीतकी पत्नी जया त्रिपाठीले आरोपी डाक्टरविरुद्ध लापरवाहीपूर्ण उपचारका कारण मृत्यु भएको भन्दै प्रहरीमा उजुरी दर्ता गरेकी छिन्।
गत मार्च ११ मा उनकी पत्नी जया त्रिपाठी बच्चाहरु लिएर होली मनाउनका लागि गोण्डास्थित माइतीघरमा गइन् । घरमा पत्नी आउँदा सरप्राइज दिन भन्दै मार्च १३ मा विनीत कपाल प्रत्यारोपण गर्न कानपुरकै एक क्लिनिकमा गए । जुन अनुष्का तिवारी नामकी एमबीबीएस डाक्टरले चलाउँदै आएकी थिइन् ।डाक्टर अनुष्काले प्रत्यारोपण सुरु गर्न नदुख्ने सुई लगाएलगत्तै विनीतको अनुहार सुन्निन थाल्यो। अवस्था बिग्रँदै गएपछि उनलाई कानपुरकै रिजेन्सी अस्पतालमा भर्ना गरियो, तर अन्ततः उनको मृत्यु भयो।
पत्नी जयाले लापरवाहीपूर्ण उपचारका कारण पतिको मृत्यु भएको भन्दै रावतपुर प्रहरी स्टेसनमा उजुरी दर्ता गराएकी छिन्। उजुरीपछि प्रहरीले आरोपी डाक्टरविरुद्ध मुद्दा दर्ता गरेको छ। कपाल प्रत्यारोपण गराउँदा हुने जोखिम र सावधानीबारे जानकार नहुँदा विनीतले ज्यानै गुमाउनुपरेको यो घटना ठूलो चेतावनीको रूपमा आएको छ।