पर्वत । पर्वतको फलेवास नगरपालिकामा गत शुक्रबारदेखि ११ वटै वडामा आमा-बा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ।
ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण गर्ने, विभिन्न रोगको सङ्क्रमणबाट बचाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो। हरेक छ/छ महिनामा नियमित स्वास्थ्य परीक्षणका लागि यो अभियान थालिने नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिए। उनले ज्येष्ठ नागरिकसँगै ३० वर्षभन्दा माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण गरिने बताए।
ज्येष्ठ नागरिकको रक्तचाप, मधुमेह, मुटु, मृगौला रोगको परीक्षण, रगत, दिसा, पिसाव, खकारलगायत जाँच, पोषण अवस्थाको लेखाजोखा, अन्य रोगको उपचार, परामर्श तथा सल्लाह दिनुका साथै गम्भीर स्वास्थ्य अवस्था देखिएकालाई उपचारका लागि अस्पताल पठाउन यो कार्यक्रम सञ्चालन गरिएको तिवारीले जानकारी दिए।
चिकित्सकसहित स्वास्थ्यकर्मी नगरका सबै घरमा पुग्ने र वृद्धवृद्धाको नियमित स्वास्थ्य परीक्षण, दीर्घकालीन रोगीले उपचार तथा निदानका विकल्पसम्बन्धी परामर्श दिँदै औषधिको मात्रा, उपभोग्य मिति, उपभोग गर्ने समयलगायत जानकारी गराइने छ। साथै उपचारका क्रममा निःशुल्क औषधि वितरण, जटिल रोग लागेका बिरामीलाई एम्बुलेन्समार्फत अस्पतालसम्म पुर्याउने व्यवस्थासमेत गरिने नगप्रमुख तिवारीले बताए।