काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भण्डारी सर्जिकल हाउस प्रालिलाई २ लाख १ हजार जरिबाना तिराएको छ।
मंगलबार भएको अनुगमनका क्रममा विभागको टोलीले सर्जिकल सामान, मेडिकल उपकरणमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि भण्डारी सर्जिकल हाउसलाई जरिबाना तिराएको हो ।
उक्त सर्जिकल हाउसले हेरफेर गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको जनाएको छ ।
यसका साथै विभागले २ अरु उद्योग तथा फर्मलाई समेत जरिबाना तिराएको छ । ३ उद्योग तथा फर्मलाई २ लाख ६६ हजार रुपैयाँ जरिबाना तिराएको छ । जसमा भण्डारी सर्जिकल हाउसलाई २ लाख १ हजार जरिबाना, बूढानीलकण्ठ नगरपालिका–७ मा रहेको एभरग्रिन होम डेकोरलाई ५० हजार रुपैयाँ र मध्यपुर थिमी नगरपालिका–१ नरेफाँटको जिरे खुर्सानी रेट्रोलाई १५ हजार रुपैयाँ जरिबाना तिराएको छ।