वीरगञ्ज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज एक समारोहबिच बाराको कलैयास्थित प्रादेशीक अस्पतालमा नवनिर्मित ब्लड बैङ्क भवनको उद्घाटन गरेका छन् ।
छाया नेपालको सहयोग तथा कलैया उपमहानगरपालिका र कलैया प्रादेशीक अस्पतालको सहकार्यमा नवनिर्मित ब्लड बैङ्क भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले रक्तदान जस्तो मानवीय कार्य समाजमा अति नै आवश्यक र उच्च मूल्यको हुने बताए । उनले कलैयामा ब्लड बैङ्क स्थापनाले जिल्लाका हजारौँ बिरामीहरूलाई सहज रुपमा रगत आपूर्ति हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा कलैया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा।अजय गुप्ताले ब्लड बैङ्कमा अत्याधुनिक उपकरणहरू जडान गरिएको र दक्ष जनशक्ति पनि खटाइएको जानकारी दिए।
समुद्घाटन समारोहमा प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री ज्वाला साह, प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठ, पूर्व सांसद प्रमोद गुप्ता, कलैया महानगरपालिकाका नगर प्रमुख विनोद साह लगायतको उपस्थिति रहेको थियो ।