काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जीवन सीमित भएका जटिल बिरामीको स्याहार तथा उपचार लक्षित गरी नेपाल प्रशामक सेवा राष्ट्रिय रणनीति २०२५ २०३५ स्वीकृत गरेका छन् ।
क्यान्सर, हृदय र फोक्सो रोग, अल्जाइमर्स, पार्किन्सन्स, मृगौलासम्बन्धी रोगजस्ता जीवनलाई दीर्घकालीन रूपमा चुनौती दिने अवस्थाका बिरामीलाई प्रदान गरिने प्रशामक सेवाका लागि सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थालाई तयार पार्ने उद्देश्यले रणनीति स्वीकृत भएको हो । नेपालमा क्यान्सर रोगीहरूका लागि यस्तो सेवा भए पनि जीवन सीमित भएका अन्य बिरामी तथा परिवारका लागि स्वास्थ्य समस्या र त्यससँग जुध्न सक्ने गरी प्रशामक सेवा उपलब्ध छैन ।
रणनीतिले स्वास्थ्य संस्थाहरूले त्यस्ता जटिल र उपचार सम्भव नदेखिएका बिरामीहरूको स्याहार, हेरचाह तथा परिवारलाई समस्यासँग जुध्न सहायता गर्ने अवस्थामा जोड दिएको छ । रणनीतिले यसका लागि हरेक तहका स्वास्थ्य संस्थालाई जनशक्ति निर्माण तथा सीप अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।
रणनीति स्वीकृत भएसँगै अब धेरै नागरिकले भोग्दै आइरहेका जटिल प्रकृतिका समस्याको सामना गर्न परिवार, समाज तथा राज्यलाई प्रेरणा र सहायताका लागि सहज हुने अपेक्षा गरिएको छ । मन्त्रालयले रणनीतिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रवक्ता डा।प्रकाश बुढाथोकीले बताए ।