काठमाडौं । नेपाल डेन्टल एशोसिएशन नेपालले ‘आधारभूत अस्पताल सञ्चालन मापदण्ड–२०८१’ माथि आपत्ति जनाउँदै आन्दोलनका उत्रिने घोषणा गरेको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एसोसिएसनले गत वैशाख ९ गते जारी गरिएको उक्त मापदण्डमा दन्त चिकित्सकहरूको मागलाई बेवास्ता गरिएको बताएको हो ।
नेपाली जनताले पाउनुपर्ने आधारभूत स्वास्थ्य उपचारका लागि ५,१० र १५ शय्या अस्पतालमा दन्त चिकित्सकको दरबन्दी नराखिनु अन्यायपूर्ण कदम भएको एसोसिएनको ठहर छ । दन्त चिकित्सकको मात्र नभई नेपाली नागरिकलाई समेत आधारभूत स्वास्थ्य सेवा अन्तर्गत दन्त स्वास्थ्य सेवा प्राप्त गर्न भेदभाव गरेको एसोसिएनको आरोप छ ।
एशोसिएशनका अध्यक्ष डा.प्रणयरत्न शाक्यले देशभरका दन्त चिकित्सकहरुले अहिले शान्तिपूर्ण आन्दोलन गरिरहेको बताए । डा।शाक्यका अनुसार अहिले देशभरका दन्त चिकित्सकहरुकाले हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् । आफूहरुको माग पूरा नभएको खण्डमा इमरजेन्सीबाहेकका सबै सेवा ठप्प पार्ने र त्यति गर्दा पनि माग पूरा गर्न सरकार तयार नभएको खण्डमा इमरजेन्सी सेवा पनि रोक्ने अध्यक्ष शाक्यले चेतावनी दिए ।
एसोसिएसनका महासचिव डा.विश्वप्रकाश ठाकुरले मापदण्डमा दन्त चिकित्सकहरूको माग नसमेटिएको भन्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्रसमेत बुझाइसकिएको बताए । गत वैशाख २८ गतेबाट आफूहरूको कालोपट्टी हातमा बाँधेर शान्तिपूर्ण आन्दोलन सुरु गरिसकेको र सरकारले नजरअन्दाज गरेको खण्डमा देशभरका दन्त चिकित्सकहरू रोडमा आउने तयारी रहेको पनि बताए । उनले स्वास्थ्य मन्त्रालय घेराउ गर्नेसमेत चेतावनी दिए ।