सुर्खेत । स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका वीरेन्द्रनगर भित्रका साढे तीन सय जना नागरिकलाई निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह गरिएको छ ।
वीरेन्द्रनगर जेसीजले अमेरिकन कम्पनी मेटलाईफ इन्स्योरेन्सको आर्थिक सहयोगमा विपन्न, असहाय तथा सीमान्तकृत नागरिकका लागि औषधिसहितको ‘निःशुल्क स्वास्थ्य शिविर’ मार्फत विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह गरेको हो ।
सुर्खेत वीरेन्द्रनगरको स्थित मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयको सेमिनार हलमा आयोजित ‘निःशुल्क स्वास्थ्य शिविर’ बाट ३ सय ५३ जना नागरिकले औषधिसहितको निःशुल्क स्वास्थ्य लाभ लिएको वीरेन्द्रनगर जेसिजका पूर्व अध्यक्ष तथा स्वास्थ्य शिविर संयोजक श्यामकुमार थापाले बताए ।
उनले विपन्न, असहाय तथा सीमान्तकृत नागरिकका लागि डाक्टरको सिफारिस अनुसार १ देखि ३ महिनासम्म पुग्ने औषधिसहित स्वास्थ्य शिविरमा आउने–जाने यातायातको व्यवस्था समेत मिलाइएको जानकारी दिए।
दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचसम्म पुर्याउन ‘निःशुल्क स्वास्थ्य शिविर’ प्रभावकारी रहेकाले आउँदा दिनहरूमा समेत सामाजिक उत्तरदायित्वपूर्ण कार्यलाई निरन्तरता दिइने उनको भनाइ थियो ।
मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार डाक्टर शोभाकर कँडेलले एक कार्यक्रमका वीच स्वास्थ्य शिविरको उद्घाटन गर्दै स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका झुप्रा खोलाका बादी समुदाय र रानीघाटमा बस्दै आएका बाढीपीडितलाई विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवाको पहुँच पुर्याउनु ठूलो मानव सेवा भएको बताए ।
शिविरमा नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर। पारस पौडेल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर शुभ श्रेष्ठ, स्त्रीरोग विशेषज्ञ डाक्टर कृतिका थापा, जनरल फिजिसियन तथा सर्जन डाक्टर कुलराज शाही, डेन्टल तथा अर्थोडेन्टिस्ट डाक्टर सुरक्षा सिंह ठकुरीले बिरामीको चेकजाँच तथा परामर्श सेवा उपलब्ध गराएका थिए ।