पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा रहेको बताए ।
पोखरा महानगरपालिका–२६ स्थित गण्डकी आयुर्वेद अस्पतालको अन्तरङ्ग लगायतका सेवाको शुभारम्भ गर्दै उनले सरकारले आगामी बजेटमा पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने बताए । सरकारको आगामी आर्थिक वर्षको बजेटमा अन्य मन्त्रालयको बजेट घटे पनि स्वास्थ्यतर्फको बजेट नघट्ने र गत वर्ष भन्दा केही बढी हुने उनले विश्वास व्यक्त गरे ।
पछिल्ला समयमा आयुर्वेद चिकित्साप्रति आकर्षण बढेको बताउँदै उनले यसको विकास तथा विस्तारका लागि सरकार लागेको बताए । जडीबुटीका लागि हामी सम्पन्न रहेको बताउँदै उनले यसको उपयोगतर्फ लाग्नका लागि आयुर्वेद चिकित्सालाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले सरकारले गण्डकी प्रदेशमा अस्पतालहरू स्तरोन्नति गर्ने क्रममा गण्डकी आयुर्वेद अस्पतालको स्तरोन्नति गरिएको बताए ।
प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले आयुर्वेद चिकित्साप्रति आकर्षण बढिरहेको बताए । गुणकारी औषधीजन्य वस्तुको पहिचान गरी त्यसको उपयोग गर्नु जरुरी रहेको बताउँदै उनले यसका लागि आयुर्वेद चिकित्सा प्रणालीलाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।