बाजुरा । वर्षासँगै जिल्ला अस्पताल बाजुरामा बिरामीको चाप बढ्न थालेको छ ।
मौसम परिवर्तनसँगै फैलिएको भाइरल ज्वरो र दीर्घ रोगीका कारण अस्पतालमा बिरामीको चापमा वृद्धि भएको हो। अस्पतालका डाक्टर पवन अर्यालका अनुसार, दैनिक एक सय ५० जना भन्दा बढी बिरामी चेकजाँच र उपचारका लागि अस्पतालमा आउने गरेका छन्, जसमा सबैभन्दा बढी मौसमी भाइरल ज्वरो र दीर्घ रोगीका बिरामीको सङ्ख्या बढी रहेको छ।भाइरल ज्वरोका बिरामी सँगै रुघाखोकी,दीर्घ रोगी,झाडापखाला,दम मधुमेह लगायतका बिरामी अस्पतालमा आउने गरेका छन्।मौसम परिवर्तन, हावाहुरी, धुलो९धुवाँ र प्रदूषित पानीका कारण संक्रमण बढेकाले सतर्कता अपनाउन डाक्टर पवन अर्यालले आग्रह गरे ।
अस्पतालले पछिल्लो समय सेवा सुधार गर्दै शल्यक्रिया, हाडजोर्नी, स्त्रीरोग, दन्त उपचार, ल्याब, भिडियो एक्सरे, अक्सिजन प्लान्ट लगायतका सेवा सञ्चालनमा ल्याएको छ। यसले गर्दा बाजुरा मात्र नभई हुम्ला, मुगु, कालीकोट लगायतका जिल्लाबाट पनि बिरामी आउने गरेकाले पनि बिरामीको सङ्ख्यामा वृद्धि भएको अस्पताले जनाएको छ । तर, सेवा विस्तारसँगै अस्पतालले विभिन्न समस्याहरू पनि भोगिरहेको छ अस्पतालको नयाँ ५० शय्याको भवन निर्माण भइसकेको भए पनि सरकारी स्वीकृति नपाउँदा सेवा विस्तारमा अवरोध भएको छ।
पर्याप्त जनशक्ति, उपकरण र बजेटको अभावले गर्दा गम्भीर बिरामीहरूलाई अन्यत्र रेफर गर्नुपर्ने अवस्था छ । सेवा सुधारका प्रयासहरू भइरहे पनि बजेट, जनशक्ति, औषधि अभावले गर्दा बाजुरा जिल्ला अस्पतालले अझै पनि चुनौतीहरू भोगिरहेको छ।