काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विश्व स्वास्थ्य सम्मेलनमा नेपालका तर्फबाट ४ प्रमुख बुँदाहरुमा विश्व समुदायको ध्यानाकर्षण गराएका छन् । मन्त्री पौडेलले नेपालले मातृ तथा शिशु मृत्युदर न्यूनीकरणमा तथा पोलियो उन्मुलनमा प्राप्त गरेको सफलताबारे विश्व समुदायलाई जानकारी गराए ।
स्वीट्जरल्याण्डको जेनेभामा जारी ७८ औँ विश्व स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै नेपालले खोपको पहुँच विस्तारमा समेत प्रगति गरेको उल्लेख गर्दै उनले पोलियो उन्मूलनसँगै सबै तहमा आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको जानकारी दिए । मन्त्री पौडेलले भने , “सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणमा नेपालले पहल थालेको छ । यसले सकारात्मक नतिजा दिने विश्वास लिएका छौँ ।”
मन्त्री पौडेलले महामारी नियन्त्रण पूर्व तयारीका लागि समतामूलक स्वास्थ्य सेवा र दह्रिलो विश्वव्यापी सहकार्य आवश्यक जनाउँदै महामारी नियन्त्रणका लागि सङ्गठनले गरेको सम्झौताको स्वागत गरे । यसका साथै मन्त्री पौडेलले जलवायु स्वास्थ्य विषयमा नेपालले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने समेत घोषणा गरे ।
मन्त्री पौडेलले सम्मेलनका क्रममा नेपालका तर्फबाट निम्न प्रमुख बुँदाहरुमा विश्व समुदायको ध्यानाकर्षण गराएका छन्
१ नेपालले आम नागरिकको स्वास्थ्य पहुँचका क्षेत्रमा गरिरहेका प्रयासहरु र चुनौती
२ मातृशिशु मृत्युदर नियन्त्रण, पोलियो उन्मुलन तथा क्यान्सरविरुद्ध सूर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणका दिशातर्फ नेपालले प्राप्त गरेको सफलता
३ हाम्रा नयाँ स्वास्थ्य चुनौतीहरु स् बढ्दो वृद्ध जनसंख्या, न्यून जन्मदर, आन्तरिक बसाईसराई तथा नसर्ने र मानसिक रोगसँग जुध्दै स्वास्थ्य सेवा पहुँच विस्तार गर्न नेपालले गरिरहेको प्रयासमा विश्व्यापी सहकार्यको आवश्यकता
४ जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पारेका प्रभावबारे हालै सगरमाथा सम्वादमार्फत विश्वको ध्यान आकर्षण गराएका छौं । यससँगै विभिन्न महामारीहरुको नवीन समाधानको खोजीमा विश्व स्वास्थ्य संगठनको पहिलेभन्दा अझ महत्वपूर्ण भूमिका