विराटनगर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले लोकतन्त्रको अनुभूति गर्नेगरी आम नागरिकलाई सहज रूपमा सेवा पुर्याउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।
मोरङको धनपालथान गाउँपालिका–३ सोराभागस्थित शिवशक्ति माविमा आयोजित बृहत् स्वास्थ्य शिविरमा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा देखिएका बेथितिलाई अन्त्य गर्दै नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा पुर्याउन स्वास्थ्य क्षेत्रमा सुधार आवश्यक रहेको बताए ।
मन्त्री पौडेलले अन्तर्राष्ट्रिय क्षेत्रको अभ्यास अनुसार नागरिकको लगानीमा स्वास्थ्य बीमामार्फत सहज र सरल रूपमा निःशुल्क स्वास्थ्य सेवा र उपचार पाउनुपर्ने बताए ।
स्वास्थ्य मन्त्रालयले आगामी बजेटमा सम्पूर्ण सङ्गठित क्षेत्रलाई वीमामा जोड्ने प्रस्ताव गरेको जानकारी दिँदै मन्त्री पौडेलले नागरिकहरूको स्वास्थ्य अवस्था बुझ्दै जटिल अवस्थामा भएकाको उपचार गर्ने पद्धतिको विकास सुरु गरेको बताए । उनले विराटनगर–१० स्थित शैलजा आचार्य हृदयरोग केन्द्रलाई क्याथ ल्याब प्रदान गरेको चर्चा गर्दै यसलाई व्यवस्थित एवं सुचारु रूपले सञ्चालन गर्नका लागि आवश्यक सहयोग प्रदान गर्ने समेत बताए ।
मन्त्री पौडेलले मन्त्रालयले सात प्रदेशमा क्यान्सर रोग उपचार केन्द्रको विस्तार गरेको जानकारी दिनुहुँदै मुटु रोग र मानव अङ्ग प्रत्यारोप गर्ने कार्यक्रम सबै प्रदेशमा क्रमशः विस्तार गर्दै जाने बताए ।
कार्यक्रममा कोशी प्रदेशसभा सदस्य अमृत अर्याल, डोल्मा तामाङ र गयानन्द मण्डल गनगाईले धनपालथान गाउँपालिकामा निर्माणाधीन १५ शय्या अस्पतालको लागि आवश्यक सहयोग गर्न आग्रह गरे ।
गणेशमान फाउण्डेशन मोरङका अध्यक्ष फलकुमार लालवानी, धनपालथान पालिकाका अध्यक्ष जिवछ गच्छदार तथा नेपाल रेडक्रस सोसाइटी मोरङका अध्यक्ष सुकदेव मण्डलले मोरङका दुर्गम क्षेत्रका जनतालाई सहज उपचारका लागि यस प्रकारको स्वास्थ्य शिविर आयोजना गर्दै जाने बताए।
एक दिने स्वास्थ्य शिविरमा न्यूरो कार्डियो मल्टिस्पेशियालिटी हस्पिटल प्रालि विराटनगरको चिकित्सकसहित ५० जना स्वास्थ्यकर्मीहरुले क्षयरोग, न्यूरो, हाडजोर्नी,फिजिसियन, ग्यास्ट्रोलोजी, डाइटिसियन, स्त्री रोग, आँखा, चर्म, श्वासप्रश्वास, अल्ट्रासाउन्ड सेवा, रगत जाँचलगायत सेवा प्रदान गरेका थिए ।
गणतन्त्र दिवसको अवसरमा गणेशमानसिंह फाउण्डेशन मोरङ, नेपाल रेडक्रस सोसाइटी, मोरङ र लायन्स क्लब अफ विराटनगरले शिविरको आयोजना गरेको हो ।