भरतपुर । न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर देशकै पहिलो अस्पताल बनेको छ ।
सङ्घीय अस्पतालहरूमा भरतपुरले अरू अस्पतालहरूलाई उछिन्दै प्रथम भएको हो । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले गरेको मूल्याङ्कनमा ८८ प्रतिशत अङ्क सहित भरतपुर अस्पताल देशकै पहिलो अस्पताल बनेको मन्त्रालयका वरिष्ठ कन्सल्ट्यान्ट डा। फणीन्द्र बरालले जानकारी दिए।
मन्त्रालयले देशभरीका १५ वटा सङ्घीय अस्पतालमा यो अनुगमन गरेको थियो । मन्त्रालयका वरिष्ठ कन्सल्ट्यान्ट डा। बरालले उत्कृष्ट अङ्क सहित भरतपुर अस्पतालले ‘ग्रिन जोन’ स्टिकर प्राप्त गरेको जानकारी दिए । ‘ग्रिन जोन’ स्टिकर ८५ प्रतिशत भन्दा बढी अङ्क ल्याउने अस्पताललाई मात्रै दिइने गरिन्छ । ‘ग्रिन जोन’ स्टिकर पाउने भरतपुर अस्पताल एक मात्रै अस्पताल भएको उनले जनाए ।
अस्पतालले दिने सुशासन तथा व्यवस्थापन, चिकित्सकीय सेवा र फोहोर मैला लगायतका वस्तुहरूको व्यवस्थापनमा अन्तर्गत पर्ने सहयोगी सेवाको मूल्याङ्कनका आधारमा न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्ने गरिन्छ । यो हरेक वर्ष मन्त्रालयले गर्ने गर्दछ । मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीको नेतृत्वमा रहेको टिमले भरतपुर अस्पतालको अनुगमन गरेको थियो । भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेलले निरन्तर र सकारात्मक प्रयत्नले मात्रै नतिजा राम्रो आएको प्रतिक्रिया दिए।
“अस्पतालको सेवा सुविधा सुधारकालागि हामीले काम गरी रहेका छौँ अहिले त्यै नतिजा देखिएको हो”, उनले भने । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा।डा। कृष्णप्रसाद पौडेलले गुणस्तरीय सेवामा आफूहरू निरन्तर लागिरहेको बताए । “अस्पतालको सिङ्गो टिम नै सेवा सुधारमा लागि रहेको छ । जसको परिणाम राम्रो आयो“, उनले भने । देशकै संघिय अस्पताल मध्येको एक भरतपुर अस्पताल देशकै मध्य भाग भरतपुरमा रहेको छ । यो अस्पतालले विभिन्न विशिष्टीकृत सेवा दिँदै आएको छ ।
मन्त्रालयले गरेको अनुगमनमा यो अस्पतालले हरेक वर्ष जसो आफूलाई स्तर वृद्धि गराउँदै आएको छ । मन्त्रालयका अनुसार २०७८ को अनुगमनमा ५२ प्रतिशत, २०७९ को अनुगमनमा ६२ प्रतिशत, २०८० को अनुगमनमा ६४ प्रतिशत, २०८१ को अनुगमनमा ७७ प्रतिशत र २०८२ को अनुगमनमा ८८ प्रतिशत अङ्क प्राप्त भएको मन्त्रालयले जनाएको छ ।