काठमाडौँ । मनसुन सुरु हुनुअघि विभिन्न संक्रमण तथा रोगको सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारीका काम सुरु गरेको छ।
वर्षायाम शुरू हुने बेला विभिन्न संक्रमण, रोग तथा महामारी देखिने सम्भावना भएकाले समयमै तयारी प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तयारी बैठक राखेर विभिन्न ६ निर्णय गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयस्तरीय तयारी बैठक राखेर महामारी रोकथाम तथा नियन्त्रणका लागि ६ बुँदे निर्णय गरेका छन्। बैठकमा मन्त्री पौडेलले विपद् आएपछि मात्रै सक्रिय हुने पुरानो अभ्यास अन्त्य गरी पूर्वतयारीका साथ महामारीलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए।
स्वास्थ्य महामारी रोकथामका लागि ६ निर्णय
वर्षापछि विभिन्न संक्रमण, रोग तथा छिमेकमा कोभिडजस्ता महामारी देखिने सम्भावना भएकाले समयमै प्रतिकार्य तथा रोकथामका लागि निम्न कार्यहरु हुनेछन् ।
१ अब महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सम्भावित महामारी हुने स्थानको पहिचान गरी सरसफाई र शुद्ध पानीको प्रयोग र व्यवस्थापनका लागि आवश्यक तयारी गर्नेछ ।
२ शुद्ध पानीको प्रयोगका लागि स्थानीय तहसम्मै प्रभावकारी सूचना सामग्री सम्प्रेषणका लागि समेत राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले काम थाल्नेछ ।
३ सबै स्थानीय तहका द्रुत प्रतिकार्य समूहसँग भर्चुअल बैठक गरेर आवश्यक जानकारी संकलन तथा तयारी अघि बढाइनेछ।
४ सातै प्रदेशमा स्वास्थ्यजन्य विपद् नियन्त्रणका लागि तालिमप्राप्त व्यक्तिको विवरण अद्यावधिक गरेर आवश्यकताअनुसार खटाउने व्यवस्था गरिनेछ ।
५ राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र तथा राष्ट्रिय÷प्रादेशिक स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रसँग आवश्यक समन्वय गरी आवश्यक तयारी तथा प्रतिकार्यका कामहरु समेत अघि बढाइनेछ ।
६ संक्रामक रोग ऐन २०२० लाई बदलिंदो परिस्थिती तथा आवश्यकताअनुसार संसोधन गर्नका लागि समेत स्वास्थ्य सेवा विभागले एक साताभित्र आवश्यक तयारी गरेर मन्त्रालयमा पेश गर्नेछ ।
समयमै सम्भावित समस्या पहिचान गरेर तयारीका साथ महामारीको स्थिती नियन्त्रणबाट बाहिर जान नदिनका लागि आवश्यक सबै सहयोगका लागि हामी प्रतिबद्ध छौं । यस कार्यमा तपाईंको साथ र सहयोग सदैव स्वागत गर्दछौं ।