काठमाडौँ । यसवर्ष दर्ता भएका स्वास्थ्यकर्मीहरूको सङ्ख्या तीन लाख ६६ हजार ५०५ पुगेको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा आज संघीय संसद्मा प्रस्तुत आव २०८१/८२ को आर्थिक सर्वेक्षणका अनुसार विसं २०८१ फागुनसम्म नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल आयुर्वेद मेडिकल परिषद्, नेपाल फार्मेसी परिषद्लगायतका निकायमा दर्ता भएका स्वास्थ्यकर्मीको सङ्ख्या यस वर्ष ४४ हजार २५१ जना थप भएको हो ।
आर्थिक सर्वेक्षणले देशभर २०८१ फागुनसम्म नेपालमा प्रतिहजार जनसङ्ख्यामा १.१ चिकित्सक र प्रतिहजार जनसङ्ख्यामा २.८६ नर्स रहेकोे देखाएको छ । २०८१ फागुनसम्म डाक्टर, नर्सरअनमी, कविराज, वैद्य, स्वास्थ्य सहायक र महिला स्वास्थ्य स्वयंसेविकासमेत गरी जम्मा एक लाख चार हजार ७९३ स्वास्थ्य जनशक्ति सरकारी सेवामा कार्यरत रहेका छन् । २०८० फागुनसम्म यस्तो सङ्ख्या एक लाख दुई हजार ५०७ थियो ।