काठमाडौँ । मृगौला प्रत्यारोपणपछि सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राखेका पेम्बा शेर्पालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सम्मान गरेका छन्।
मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले शेर्पाको अद्वितीय साहसको प्रशंसा गर्दै उनलाई अङ्ग प्रत्यारोपण प्रवर्द्धन दूतका रूपमा नियुक्त गर्ने घोषणा समेत गरे । मन्त्री पौडेलले मस्तिष्क मृत्युपछि अंगदान प्रक्रिया अझ सहज बनाउन सरकार प्रयासरत रहेको बताउदै अङ्ग अभावमा धेरैले ज्यान गुमाइरहेकोले शेर्पाको उदाहरणले जनचेतना फैलाउने विश्वास समेत व्यक्त गरे । मिर्गौला प्रत्यारोपण गरेका नेपालीले पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकोमा उनको साहसको प्रशंसा गरे।
कीर्तिमानी आरोही शेर्पाले मृगौला प्रत्यारोपणपश्चात् पुनः जीवन पाएको अनुभव सुनाउँदै आफूले ज्यानको बाजी राखेर प्रत्यारोपण गराइएको अस्पतालसँगको वाचा पूरा गरेको बताए । जापानमा ७ वर्ष काम गरी नेपाल आउने क्रममा आरोही पेम्बा शेर्पाको मिर्गौलामा समस्या देखिएको थियो। दुई वटै मिर्गौलाले काम नगरेपछि उनलाई प्रत्यारोपणकालागि आफ्नै बाबुले मिर्गौला दान दिएका थिए । यसकालागि उनले लामो समय उपचार गराउनु परेको थियो। उनले करिब ३० महिनाको अबधिमा नयाँ जीवन पाएको बताए ।