वीरगंज। नारायणी अस्पतालको सघन उपचार कक्ष (आइसियु) र कार्डियाक केयर युनिट (सीसीयू) मा गएराति करिब १० बजे देखि १ बजे सम्म अचानक सर्ट सर्किटका कारण विद्युत् आपूर्ति अवरुद्ध हुँदा बिरामी जोखिममा परेको घटना सार्वजनिक भएको छ ।
सो अस्पतालमा उपचाररत अक्सिजन र जीवन रक्षक उपकरणमा निर्भर १७ जना बिरामीको ज्यान जोखिममा परेको शुक्रवारको यस घटनाले अस्पताल प्रशासनको संवेदनशीलता र तयारीप्रति गम्भीर प्रश्न खडा गरेको छ ।
गएराति विद्युत् आपूर्ति तीन घण्टासम्म बन्द हुँदा आइसियु र सीसीयूमा रहेका बिरामी र तिनका परिवार सदस्यहरू अत्यन्त तनावमा परेका थिए । गर्मी र उपकरण नचल्दा बिरामीहरूको अवस्था झन् नाजुक बनेको थियो । अस्पताल प्रशासन सम्पर्कविहीन रहेको भन्दै चिकित्सक र कुरुवाहरूले तीव्र आलोचना गरेका छन् ।
मेडिकल सुपरिटेन्डेन्ट डा। चुमनलाल दास निद्रामै रहेको आरोप लागेपछि अस्पताल प्रशासनको जिम्मेवारीप्रति शङ्का बढेको छ । अस्पतालका निमित्त मेसु डा। चितरन्जन साह पनि विद्युत् अवरोधका विषयमा अनभिज्ञ रहेको बताइएको छ ।
बिरामीका परिवारले अस्पताल प्रशासनमाथि ज्यानसँग खेलवाड गरेको कडा आरोप लगाएका छन् । उनीहरूले बिरामीलाई अन्य अस्पतालमा लैजान दबाब दिएको भए पनि निजी अस्पतालमा ठाउँ नभएको बताएपछि रातभर तनाव खेप्नु परेको पीडितका परिवारहरूले बताएका छन् । आफन्तलाई आइसियुमा भर्ना गरेका एक बिरामी कुरुवाले राति कहाँ लैजाने रु रातको समय छ, निजी अस्पतालमा ठाउँ छैन, पैसा पनि छैन त्यस्तो अवस्थामा अस्पतालका चिकित्सकले बिरामीलाई बाहिर लैजाऊ भनेसँगै तनावमै ३ घण्टा बितेको गुनासो गरेका छन् ।
वीरगञ्ज बासीहरूले सार्वजनिक अस्पतालमा यस्तो संवेदनशील अवस्थामा प्रशासनको गैरजिम्मेवार पनप्रति आक्रोश व्यक्त गर्दै तत्काल सुधार गर्न सरकारसमक्ष माग गरेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। चुमनलाल दास तथा अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताको कार्यशैलीप्रति यो घटनाले प्रश्न उठाएको वीरगन्जका नागरिक समाजका अगुवाहरूले बताएका छन् ।
तीन घण्टापछि विद्युत् आपूर्ति पुनः सुचारु भएपछि बिरामीले राहत पाएका थिए । यद्यपि, यसले नारायणी अस्पतालको सेवा प्रणाली र आपतकालीन व्यवस्थापनमा ठूलो सुधार आवश्यक रहेको यो घटनाले देखाएको छ ।