भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ ।
यस सँगै भोजपुरका नौ पालिका मध्ये पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणामा अरुण चौथो पालिका बनेको छ ।पालिका भित्रका सात वटै वडाहरूलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा सकिएपछि पालिकालाई घोषणा गरिएको हो । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राई र गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्नु भएसँगै अरुण पूर्ण खोपयुक्त पालिका बनेको छ ।
जन्मदेखि १५ महिनासम्मका बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार सरकारले उपलब्ध गराउने सबै खोप लगाएको सुनिश्चित भए पछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको गाउँपालिका अध्यक्ष खत्रीले बताए । पालिकालाई खोप सुनिश्चितता तथा दिगोपना घोषणासँगै अध्यक्ष खत्रीले आगामी दिनमा पनि खोप लगाउनबाट बालबालिकाहरू वञ्चित हुन नहुने बताउँदै महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सरोकारवालाको भूमिका यसमा महत्वपूर्ण हुने बताए ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा समन्वय प्रमुख राईले आफूहरू जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने तयारीमा रहेको बताए । उनले अरुण गाउँपालिका भित्रका सबै बालबालिकाहरूले पूर्ण खोप लगाएको कारण पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा हुन सफल बनेको बताए । आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै खोप अभियानलाई पालिका स्तरमा सफल बनाउनु पर्ने पनि राईको भनाई छ ।
कार्यक्रममा सहभागी गाउँपालिकाका जनप्रतिनिधि, पार्टीका प्रतिनिधि, स्थानीयवासी, स्वास्थ्यकर्मी, कर्मचारी, पत्रकार सबैले पूर्ण खोपका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरे । यसअघि जिल्लाको हतुवागढी गाउँपालिका, भोजपुर नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरि सकिएको छ भने अव षडानन्द नगरपालिका सहित चार पालिका घोषणा हुन बाँकी रहेको छ ।