बाँके । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लाका लागि भारत आउजाउ गर्ने प्रमुख नाका नेपालगन्जस्थित जमुनाहामा एन्टिजेन किटको अभावका कारण कोरोना परीक्षण ठप्प भएको छ।
भारततर्फ आवतजावत गर्नेको भीडभाडबीच परीक्षण नहुनु कोरोनाको संक्रमण तीव्र रूपमा फैलन सक्ने जोखिम निम्त्याउने विज्ञहरू बताउँछन्।
इलाका प्रहरी कार्यालय, जमुनाहाका अनुसार दैनिक ५ देखि ८ हजारसम्म नेपाली नागरिक किनमेलका लागि भारतको रुपईडिहा बजार जान्छन्। त्यस्तै, दैनिक ३–४ हजार नेपाली कामको सिलसिलामा भारत गइ फर्कने गरेका छन्। स्वास्थ्य उपचारका लागिसमेत भारत गएकाहरूको सङ्ख्या उल्लेखनीय छ।
कोरोना महामारीको बेला स्थापना गरिएको हेल्थ डेस्कमा हाल लुम्बिनी प्रदेश र नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्यकर्मी खटिएका छन्। तर, अहिले त्यहाँ औलो, क्षयरोग र एचआइभीको परीक्षण मात्र भइरहेको छ। कोरोना परीक्षणका लागि चाहिने एन्टिजेन किट अभावले जाँच रोकिएको हो।
हेल्थ डेस्क इन्चार्ज सुनिता मौर्याले भारतका विभिन्न सहरमा कोरोना संक्रमण बढिरहेको जनाउँदै नाकामा परीक्षण ठप्प हुनु दुर्भाग्यपूर्ण भएको बताए। “हामी जाँच गर्न आतुर छौं, तर किट नै छैन,” उनले भनिन्, “यदि परीक्षण भइरहेको भए, संक्रमित भेटिने सम्भावना उच्च थियो।”
उनका अनुसार प्रदेश तथा संघीय सरकारसमक्ष पटक–पटक एन्टिजेन किटको माग गरिसकिएको छ। “कोरोना परीक्षणमार्फत जोखिम न्यूनीकरण गर्न सकिन्थ्यो,” उनले थप्नभयो।
लुम्बिनी स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशनलाल चौधरीले हाल निर्देशनालयसँग एन्टिजेन किट नरहेको पुष्टि गर्दै आपूर्ति महाशाखामा माग गर्ने तयारी भइरहेको जानकारी दिए । “एक साताभित्र आवश्यकतानुसार जिल्ला–जिल्लामा किट पठाउने योजना छ,” उनले बताए।
नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले भारतमा कोरोना संक्रमण दर बढ्दै गएकाले नाकामा परीक्षण तत्काल आवश्यक भएको बताए “हामीले माग गरिसकेका छौँ, किट आएपछि परीक्षण सुरु गर्छौं,” उनले स्पष्ट पारे।
स्वास्थ्य विज्ञहरूले सीमावर्ती नाकाहरूमा कोरोना परीक्षणलाई उच्च प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन्। उनीहरूको चेतावनीअनुसार एन्टिजेन किटको अभावमा परीक्षण रोकिँदा संक्रमण फैलन सक्ने ‘साइलेंट थ्रेट’ उत्पन्न भएको छ।