नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले पुरुषलाई प्रोस्टेट क्यान्सरबाट बचाउन अभियान सञ्चालन गरेको छ । गाउँमै परीक्षण सेवा सञ्चालन गरिएको छ ।
अभियान अन्तर्गत विदुर नपाले दुई स्थानमा पुगेर पहिचानका लागि परीक्षण शिविर सञ्चालन गरेको छ । खड्ग भन्ज्याङ र कल्याणपुरमा सञ्चालित दुई दिने शिविरमा एक सय २८ जना पुरुषले प्रोस्टेट क्यान्सरस्क्रिनिङ सेवा लिएका छन् । विदुर नपाले प्रोस्टेट क्यान्सरबाट बचाउन पहिलो पटक ४० वर्षमाथिका पुरुषहरूका लागि निःशुल्क दुई दिने स्क्रिनिङ शिविर सम्पन्न गरेको हो । दुवै शिविरको मेयर राजन श्रेष्ठले उद्घाटन गरे ।
मेयर श्रेष्ठले मानवको स्वास्थ्य सेवा सबैभन्दा महत्त्वपूर्ण सेवा भएका कारण यसको प्रभावकारिताका लागि विदुर नपाले विशेष रूपमा कार्यक्रम सञ्चालन गरेको बताउनुभयो। उहाँले यस वाट पुरुषहरूको स्वास्थ्य सुरक्षामा मद्दत पुगेको बताए । विदुर नपाले चालु आर्थिक वर्षमा सबै वडाबासीको स्वास्थ्य सम्बन्धी अभियान बढाउँदै विभिन्न स्वास्थ्य गतिविधि गरिरहेको छ । यस क्रममा विदुर नपा ३ र १३ मा पुरुषमा हुने प्रोस्टेट क्यान्सरबाट बचाउन पुरुषका लागि प्रोस्टेट क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।
खड्ग भञ्ज्याङ स्वास्थ्य चौकी र कल्याणपुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको दुई दिने निःशुल्क स्क्रिनिङ शिविरमा एकसे २८ जना पुरुषले सेवा लिएको जनस्वास्थ्य निरीक्षक राम राजा भण्डारीले बताए । उनका अनुसार खड्ग भञ्जायाङमा ७९ र कल्याणपुरमा ४९ जना पुरुषले जाँच गराएका छन् ।
विदुर नपाकी उपमेयर प्रभा बोगटीले शिविरमा प्रोस्टेट क्यान्सर नियन्त्रण सचेतनामूलक कार्यक्रमसमेत गरिएको र यसलाई निरन्तरता दिइने बताए । कार्यक्रममा विदुर ३ का वडाध्यक्ष वद्री रिमाल र विदुर–१३ का वडाध्यक्ष भरतबहादुर तामाङले प्रोस्टेट क्यान्सर स्क्रिनिङ सेवाबाट गाउँवासीले उचित लाभ लिएको बताए ।
दुइदिने शिविरमा जाँच गरिएकोमा ६ जनालाई थप उपचारको लागि काठमाडौँ पठाइएको जनाएको छ । युरो सर्जन जीतबहादुर श्रेष्ठको विशेषज्ञको टोली सेवा प्रदान गरेका थिए । युरो सर्जन श्रेष्ठले पुरुषमा जन्मजात प्रोस्टेट हुने र उक्त व्यक्तिमा प्रजनन शक्ति हुने जानकारी दिए । पुरुषको पिसाब थैलीमा प्रोस्टेट समस्या भएको वा नभएको पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।
प्रति एक लाख जनामध्ये एक जनामा देखिने रोग भए पनि दिनदिनै सहरी क्षेत्रमा प्रोस्टेट क्यान्सर बढ्दो अवस्थामा रहेकाले त्यसको सचेतना अपनाउने सन्देशका लागि शिविर गरिएको विदुर नपाले जनाएको छ । उता, नुवाकोटको पूर्वी भेगमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र रानी पौवाबाट ई सिजी सेवा सुरु गरिएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र ककनी रानी पौवामा मुटु सम्बन्धी ई सिजी सेवा सञ्चालन गरिएको हो । केही समय अगाडिदेखि रोकिएको उक्त सेवा ककनी गाउँपालिकाको कार्यालयले मेसिन खरिद गरी प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको थियो । मेसिन आएपछि सेवा सुरु गरिएको ककनी गाँउपालिका अध्यक्ष सुमन तामाङ सज्जनले बताए । गाउँवासीलाई उपचारमा सहज भएको उनले बताए । ककनी प्राथमिक स्वास्थ्य केन्द्रबाट इमर्जेन्सी सेवा, ल्याब तथा अन्य स्वास्थ्य सेवाहरू सञ्चालन भइरहेको छ । ककनी अधिकांश तामाङ समुदायको बसोबास रहेको स्थान हो ।