मौसमसम्बन्धी पूर्वानुमान गर्ने निकायले यो वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरिरहँदा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले डेङ्गीको सङक्रमणमा वृद्धि देखिन सक्ने अनुमान गरेका छन्।
अघिल्लो वर्षको तुलनामा सङक्रमण घटेको पाइए पनि वर्षाको समयमा सावधानी नअपनाइए महामारीको जोखिम हुने अधिकारीहरू बताउँछन्। सन् २०२५ को ज्यानुअरी १ देखि जुन ८ सम्मको अवधिमा १,२५५ जनामा उक्त सङक्रमण देखा परेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडीमिओलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यो सङ्ख्या २,५०० को आसपास थियो।
अधिकारीहरूका अनुसार यो वर्ष नेपालका विभिन्न ७२ जिल्लामा डेङ्गीको सङ्क्रमण देखा परिसकेको छ। सबैभन्दा धेरै प्रभाव बागमती प्रदेशमा देखिएको छ। महाशाखाको विवरणअनुसार बागमतीपछि क्रमशस् कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र मधेशमा धेरै मानिसहरूमा डेङ्गी सङ्क्रमण देखा परेको छ।
काठमाण्डू जिल्लामा सबैभन्दा धेरै १३२ जनामा यो सङ्क्रमण देखिएको छ। कास्कीमा ९० र सुनसरीमा ८७ जना सङ्क्रमित भएका छन्। मनाङ, महोत्तरी, रसुवा, डोल्पा र हुम्ला गरी पाँच जिल्लामा भने ज्यानुअरीयता उक्त सङ्क्रमण देखा परेको छैन। डेङ्गीका कतिपय बिरामीमा कुनै पनि लक्षण नदेखिने हुँदा वास्तविक सङ्क्रमणको तुलनामा तथ्याङ्क कम देखिन सक्ने कतिपय विज्ञहरू बताउँछन्।
डेङ्गीबाट जोगिने उपाय
- पानी जम्मा गरी राखिएका ट्याङ्की, ड्रम, गाग्री तथा बाल्टिन आदिलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्ने
- आफ्नो घरवरपर, कार्यस्थल र सार्वजनिक स्थानहरूमा फालिएका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, टिनका बट्टा, प्लास्टिकजन्य वस्तुहरू तथा पानी जम्न सक्ने अन्य भाँडा तथा सामग्रीहरूलाई पानी नजम्ने गरी व्यवस्थापन गर्ने
- छाना तथा अन्य स्थानमा फालिएका सवारी साधनका टायरहरूलाई पानी जम्न नपाउने गरी छोपेर राख्ने तथा आकासे पानीको पहुँचबाट टाढा राख्ने
- घरबाहिर वा भित्र राखिएका फूलका गमला तथा गमला वा गमलामुनिका प्लेटहरूमा जमेको पानी कम्तीमा हप्ताको एक पटक फालेर गमला तथा प्लेटलाई राम्रोसँग सफा गर्ने
- बिहान, दिउँसो वा राति जुनसुकै बेला सुत्दा पनि झुलको प्रयोग गर्ने
- घरभित्र लामखुट्टे छिर्न नदिन सम्भव भएसम्म झ्याल तथा ढोकाहरूमा सानो प्वाल भएको जाली प्रयोग गर्ने
- पूरा शरीर ढाक्ने तथा लामो बाहुला भएका लुगा लगाउने
- शरीरको खुल्ला भागमा लामखुट्टे भगाउने मलमको प्रयोग गर्ने