काठमाडौं । उपभोक्ता अदालतले चाबहिलको ओम अस्पताललाई ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति तिराउने आदेश गरेको छ ।
बिहीबार उपभोक्ता अदालतका न्यायाधीश रामप्रसाद शमा, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले उपचारमा अस्पताल र संलग्न चिकित्सकले समेत लापरबाही गरेको ठहर गर्दै क्षतिपूर्ति भराउन आदेश भएको स्रेस्तेदार शोभाकर खरेलले जानकारी दिए।
बुवा हरिहर प्रसाद गौतमको उपचारमा लापरबाही गरेको भन्दै छोरा बसन्त गौतमले ओम अस्पताल मुद्दा दायर गरेका थिए। बाथरुममा लडेका बाबुको अस्पतालमा उपचार गर्दा कुनै स्वास्थ्यपरीक्षण पनि नगरी दुःखाइ घटाउने इन्जेक्सन दिएको र त्यसैका कारण बाबुको मृत्यु भएको भन्दै गौतमले ५ करोड क्षतिपूर्ति दाबी गरेका थिए ।
उनले ५ करोड क्षतिपूर्ति पाउनुपर्ने दाबी गरे पनि अदालतले अस्पतालाई ८० प्रतिशतले हुन आउने ५० लाख र दुई चिकित्सकलाई जनही ३ लाख ४० हजार पाच सयको दरले ५६ लाख ८१ हजार भराउन भनिएको अधिवक्ता ज्योति बानियाँले जानकारी दिए।