काठमाडौं । नेपालमा पहिलो पटक सन् २०२४ मा गरिएको यौन दुर्बलतासम्बन्धी राष्ट्रिय अध्ययनले ३० वर्षभन्दा माथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता रहेको पाइएको छ ।
नेपालका सातवटै प्रदेशहरू र तीनवटै भौगोलिक क्षेत्रहरू समेटिने गरी देशका विभिन्न ३४ वटा जिल्लाहरूका ३३८२ जना विबाहित महिला र पुरुषहरूमा गरिएको यो अध्ययनले अहिलेसम्म लुकेको र भित्र भित्र भयावह रुपमा रहेको यो गम्भीर विषयलाई उजागर गरेको छ। स्थानीय एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल) ले परिवार कल्याण महाशाखा, स्वास्थ्य सेवा विभाग, सयुक्त राष्ट्र संघीय जनसंख्या कोष लगायतका संस्थाहरूको सहयोगमा सन् २०२४मा गरेको यौन दुर्बलता सम्बन्धी राष्ट्रिय सर्वेक्षणको नतिजा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज प्रबोधिकरण गर्दा यो तथ्य बाहिर आएको हो ।
यौन दुर्बलताको दर विश्वमा नै बढ्दै गएको प्रमुख अनुसन्धानकर्ता डा खेमबहादुर कार्कीले बताए । उनका अनुसार विश्वमा सरदर आधा जति मानिसहरू (महिलामा ४९% र पुरुषमा ४३%) ले कुनै न कुनै प्रकारको यौन दुर्बलताको अनुभव गरेको तथ्याङक रहेको छ। यस मध्ये एशियाली देशका नागरिकहरूमा यो दर झन धेरै रहेको देखिन्छ । सन् २०११ मा प्रकाशित अनुसन्धानमुलक लेखका अनुसार मलेसियाका पुरुषहरूमा २७-६९ प्रतिशतसम्म, सिंगापुरका पुरुषहरूमा ५१- ७३ प्रतिशतसम्म र हङकङका पुरुषहरूमा ६४ प्रतिशत सम्ममा लिङ्ग उत्तेजित नहुने समस्या देखाइएको छ । यसैगरी सिंगापुरका ५६ प्रतिशत महिलाहरूमा यौन दुर्बलता रहेको डा कार्कीले जानकारी दिए ।
नेपालमा गरिएको राष्ट्रिय सर्वेक्षणले यौन दुर्बलता हुने ७२ प्रतिशत पुरुष मध्ये पाँच प्रतिशत वयस्क पुरुषहरूको गम्भीर दुर्बलता छ भने ३२ प्रतिशत पुरुषको सामान्य प्रकारको यौन दुर्बलता छ । यौन दुर्बलता भएका मध्ये करिब ८४ प्रतिशत पुरुषहरूले सम्भोगबाट सन्तुष्टी प्राप्त गर्न नसकेको बताएका छन् । त्यसै गरी ९२ प्रतिशत महिला, पुरुषले यौन चाहाना नै नहुने बताएका छन्। यसले उनीहरूको जीवन तनावपुर्ण भएको वा उनीहरूको स्वास्थ्यमा केही न केही समस्या छ भन्ने संकेत गर्दछ।
यौन दुर्बलता हुने महिलाहरूमा ९४ प्रतिशतमा यौन उतेजना नै नहुने हुन्छ भने ८६ प्रतिशतमा योनि सुख्खा हुने समस्या छ। करिब ६६ प्रतिशत महिलाहरूले यौन सम्पर्कको समयमा पीडा महसुस गर्छन्। सर्वेक्षणका अनुसार महिला र पुरुष दुवैमा रहेको यौन दुर्बलताको स्तर सबैभन्दा धेरै मधेश प्रदेश (७३%) र त्यसपछि कर्णाली प्रदेश (७१%) मा रहेको छ ।
यौन दुर्बलताको प्रमुख कारण मानसिक तनाव हो र यो गरिबी र अभावसँग जोडिएको डा कार्कीले जानकारी दिए । प्रतिवेदनले सुर्ती सेवन वा मदिराजन्य पदार्थको सेवनले पनि यौन दुर्बलता बढाएको कुरा पुस्टि गरेको छ। लामो समय सुर्ती सेवन गरेर छाडेकाहरू मध्ये ८० प्रतिशतमा यौन दुर्बलता देखिएको छ। त्यसै गरी मदिरा सेवन गर्नेहरूमा (६९%) नगर्नेहरूमा (५९%) भन्दा बढी रहेको समेत बताए ।
।
सर्वेक्षणले धेरै मोटोपन भएका व्यक्तिहरूमा मोटोपन नभएको व्यक्तिहरूको दाँजोमा बढी यौनदुर्वलता देखिएको छ । त्यस्तै, उच्च रक्तचाप भएका व्यक्ति र रगतमा चिनीको मात्रा वढी भएका व्यक्तिहरूमा पनि यौन दुर्बलताको अवस्था वढी नै देखिएको छ । अध्ययनले कुनै दीर्घरोग जस्तै मधुमेह, उच्च रक्तचाप भएकाहरूमा यौन दुर्बलता वढी हुने देखाएको छ । यौन दुर्बलताको कारणहरू मध्ये नसर्ने रोगहरू प्रमुख कारणहरू मानिन्छन्। यसो हुँदा यौन दुर्बलता सम्बन्धी रोकथाम तथा उपचारलाई नसर्ने रोग रोकथाम तथा नियन्त्रण कार्यक्रम एकीकृत गराउनु पर्ने देखिन्छ।