काठमाडौं । उपकुलपति सिफारिस समितिको सचिवालयले रिक्त रहेका चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा उपकुलपति नियुक्तिकालागि सुचना जारी गर्दै आवेदन माग गरेको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदमा नियुक्तिकालागि इच्छुक उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको छ।
प्रतिष्ठानका कुलपति समक्ष सिफारिस गर्ने प्रयोजनको लागि सम्बन्धित स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐनमा उल्लेख भए अनुसार स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ बमोजिमको योग्यता पुगेका इच्छुक उमेदवारहरूले आवेदन दिन भनिएको छ ।
नियुक्ति हुन चाहेको प्रतिष्ठानको लागि सूचना प्रकाशन भएको मितिबाट ७ दिनभित्र (अन्तिम दिन सार्वजनिक विदा परेमा सोको भोलि पल्ट) सिफारिस समितिको सचिवालय (नीति, योजना तथा अनुगमन महाशाखा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) मा आवेदन पेश गर्नु पर्नेछ।
आवेदनकर्ताले निम्न कागजातहरु संलग्न गर्नुपर्ने छ :
स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियक्ति र मनोनयन सम्बन्धि मापदण्ड, २०७३ मा उल्लेखित योग्यता तथा अनुभवका अतिरिक्त निम्न विषयहरु सलग्न गरी आवेदन पेश गर्नुपर्नेछ ।
१। रितपूर्वकको निवेदन
२। सम्बन्धित प्रतिष्ठानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तयार गरिएको शिलवन्दी व्यावसायिक कार्ययोजना ।
(आवेदनकर्ताले संलग्न गर्नुपर्ने कागजातको विस्तृत विवरण सिफारिस समितिको सचिवालय वा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको Website: https://mohp.gov.np/ बाट प्राप्त गर्न सकिने छ ।)
