रौतहट । काठमाडौँबाट आउँदै गरेको बस भिठ्ठामोड जाँदै गरेको रात्रीबस रौतहटको चन्द्रपुरमा दुर्घटना हुँदा १० जना यात्रुहरू घाइते भएका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. २ स्थित पूर्व पश्चिम राजमार्गमा आज बिहान करिब ५ बजेको समयमा काठमाडौँबाट भिट्ठामोड आउँदै गरेको बा.प्र.०१–००६ ख. ५२१६ नम्बरको गंगोत्री ट्राभल्सको यात्रु बोकेको बस आफै अनियन्त्रित भई सडक भन्दा दक्षिण साइडमा दुर्घटनामा परेको थियो।
दुर्घटनामा परि भारत विहार सीतामढीका रेखा देवी, सीतामढी जिल्लाकै जहदेवी झा, विसुकुमार पटेल, दरभंगा जिल्लाका मोहम्मद अमजल, मोहम्मद ओकिल, नरगिस खातुन, निजको २ वर्षीय छोरा आयस प्रतिक, धनुषा क्षिरेश्वरनाथ १ का अनुष्का निगम, जनकपुरका सन्तोषी ठाकुर र जलेश्वर नपा ४ का पुनम ठाकुर घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
काठमाडौँबाट भिठ्ठामोड जाँदै गरेको बसमा सबार २५ जना मध्ये १० जना घाइते भएको छ भने १५ जना सकुशल घर फर्किएका प्रहरीले जनाएको छ। घाइतेहरूको चन्द्रपुर स्थिति अस्पतालमा उपचार भईरहेको छ तथा उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बस दुर्घटना भएपछि बसका चालक फरार रहेको हुँदा चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।