काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हरेक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रिया सुरू भएको बताए ।
लामो समयपछि स्वास्थ्य क्षेत्रमा पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने गरी हरेक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रिया सुरु भएको मन्त्री पौडेलले बताएका हुन् । स्वास्थ्य जनशक्ति अभाव भए पनि दशकौंसम्म जनशक्ति थप गर्ने गरी स्वास्थ्य क्षेत्रको सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण गरेर प्रक्रिया पूरा गरी मन्त्रिपरिषदमा पेश गर्ने गरी अन्तिम चरणमा रहेको उल्लेख गरे ।
मन्त्री पौडेलले यसको लागि नयाँ आर्थिक वर्षमा ९५ अर्ब ८१ करोड विनियोजन गरिएको बताए ।
यसका साथै नयाँ बजेटमार्फत सातै प्रदेशमा विशिष्टीकृत सेवा, रोग लाग्न नदिन कार्यक्रम, मधेसमा मिर्गौला उपचार केन्द्र, काठमाडौँमा न्यूरो उपचार केन्द्र, ठुला सङ्घीय अस्पतालको पूर्वाधारका लागि बजेट, ८ कडा रोगको उपचारमा थप सुविधा र श्रमिकको स्वास्थ्य रक्षाका लागि रोजगारदातालाई जिम्मेवार बनाउन पहल थालेको मन्त्री पौडेलले बताए ।