मोरङ। मोरङको बूढीगङ्गा गाउँपालिकास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्वेदिक औषधि उत्पादनको तयारी सुरु गरेको छ ।
सोमबार ‘उपकुलपतिसँग पत्रकार’ कार्यक्रम गर्दै विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले नेपाली जडीबुटीको प्रयोग गरी मधुमेह रोगको उपचार विधि र पद्दतिलाई महत्त्व दिँदै उत्पादनसम्बन्धी अनुसन्धान भइरहेको जानकारी दिए ।
चालु शैक्षिकसत्रमा विश्वविद्यालयले १० वटा विभिन्न विषयमा अनुसन्धान गरिरहेको बताए । दश वटा अनुसन्धानमध्ये मधुमेह रोगको उपचार गर्ने र ब्याक्टेरियोफेजसम्बन्धी अनुसन्धानलाई विशेष महत्त्वका साथ अगाडि बढाइएको उपकुलपति पोखरेलले बताए ।
उनले यो मुलुकभित्रको पहिलो प्राविधिक विश्वविद्यालय प्रदेश सरकारबाट अपेक्षित रूपमा बजेट विनियोजन नभएको गुनासो व्यक्त गरे । विश्वविद्यालयले प्रदेश सरकारसँग आगामी आर्थिक वर्षका लागि रु ३७ करोड बजेट माग गरेकामा रु १४ करोड मात्र विनियोजन भएको उपकुलपति पोखरेलले उल्लेख गरे ।