काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले थाइल्याण्डमा क्रियाशिल स्वास्थ्य नीति निर्माता, बौद्धिक तथा अध्ययनरत मेडिकल विद्यार्थीसँग नेपालको स्वास्थ्य क्षेत्रमा गर्न सकिने सुधारबारे अन्तरक्रिया गरेका छन् ।
नेपाली राजदूतावासको आयोजनामा बैंककमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले थाईल्याण्डको स्वास्थ्य उपचार प्रणाली, मेडिकल शिक्षा तथा स्वास्थ्य बिमाका बारेमा थाइल्याण्डको अनुभवबाट गर्न सकिने सुधारबारे सुझाव सङ्कलन गर्दै उनीहरुको अनुभव आदानप्रदानले आगामी दिनमा थप सम्भावना र सहकार्यको मार्ग प्रशस्त गर्ने मन्त्री पौडेलले बताए ।
मन्त्री पौडेलले अहिले मन्त्रालयले स्वास्थ्य उपचार सेवा सुधार तथा विस्तारसँगै स्वास्थ्य बीमामा नीतिगत सुधारसम्बन्धी निर्णय गरेर कार्यान्वयनतर्फ अघि बढिरहेको भन्दै दुवै देशको परिस्थितिबारे जानकार नेपालीहरुबाट प्राप्त अनुभव आगामी दिनमा थप उपयोगी हुने विश्वास गरे । ‘‘हामी अहिलेकै स्रोतमा सुधार गरेर नागरिकलाई बढी सेवा दिन प्रयत्नशील छौं,’’ मन्त्री पौडेलले भने, ‘‘तपाईंहरुको अनुभव हाम्रा लागि उपयोगी बन्न सक्छ ।’’
अन्तरक्रियामा सहभागी स्वास्थ्य सेवाप्रदायक एप निर्माणमा संलग्न नेपालीहरुले आफ्नो सेवा स्वदेशमा विस्तारमा तयार रहेको बताए ।