काठमाडौँ । वीरगञ्जमा सुरक्षित गर्भपतनसम्बन्धी सेवा र जानकारीलाई प्रवर्धन गर्न ‘युवा पहुँच परियोजना’ सक्रिय रूपमा सञ्चालनमा आएको छ ।
किशोर तथा युवाहरूमाझ परियोजनाले युवाहरूलाई सुरक्षित यौन र प्रजनन स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । परियोजनाले सुरक्षित गर्भपतन, यौन शिक्षा, असुरक्षित गर्भपतनको जोखिम, तथा उपलब्ध निस्शुल्क सेवाहरूको बारेमा सचेतना फैलाइरहेको संस्थाले जनाएको छ ।
“युवा पहुँच परियोजनाको मूल उद्देश्य भनेको युवाहरू, विशेष गरी किशोरी तथा युवा महिलाहरूलाई सुरक्षित गर्भपतनसम्बन्धी सेवा र जानकारीमा पहुँच सुनिश्चित गर्नु हो,” युवा संस्थाका वीरगंज संयोजक आसु सर्राफले भने नेपालको दक्षिणी तराई क्षेत्रमा पर्ने वीरगञ्जमा यस्ता सेवाहरूमा पहुँचको अभावले गर्दा धेरै महिलाहरू असुरक्षित गर्भपतन, सामाजिक कलङ्क र स्वास्थ्य जोखिमको सामना गरिरहेका थिए ।”
सुरक्षित गर्भपतनको अधिकार हरेक महिलाको मानव अधिकार भएको र युवा संस्थाको प्रयास भनेको युवालाई सही जानकारीसहित सेवा उपलब्ध गराई उनीहरूले समयमै निर्णय लिन सकुन् भन्ने रहेको सर्राफले बताए। परियोजनाले युवा मैत्री स्वास्थ्य सेवा केन्द्रहरूमा सेवा विस्तार गर्दै समुदायमा रहेको भ्रम र लाजको वातावरण तोड्ने प्रयास गरिरहेको उनले बताए ।
यसमा युवाहरूलाई लक्षित सेवामा परामर्श सेवा, निस्शुल्क गर्भनिरोधक साधन वितरण, र आवश्यक परेमा सुरक्षित गर्भपतन सेवा समावेश गरिएको छ । परियोजनाले सुरक्षित गर्भपतनसम्बन्धी सेवामा राम्रो प्रभाव पारेकोले किशोरीहरू अहिले सुरक्षित गर्भपतनका लागि सरकारी अस्पतालमा आउने गरेको नारायणी अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा।मञ्जु रायले जानकारी दिए ।
यसैगरी ती च्याम्पियनमार्फत कम्तीमा पनि १ हजार ५०० भन्दा बढी स्कुल, कलेज र समुदायका युवाहरूलाई प्रत्यक्ष रूपमा सुरक्षित गर्भपतनबारे जानकारी दिइएको र ६ जना अनमी (सहायक नर्स मिडवाइफ) हरूलाई मेडिकल गर्भपतन सम्बन्धी तालिम प्रदान गरिएपछि अहिले सेवाको गुणस्तर र पहुँचमा सुधार ल्याएको युवा संस्थाले जनाएको छ ।