अहिलेको जीवनशैलीका कारण हरेक घरमा १ जनालाई मधुमेह (डायबेटिज) को समस्या रहेको पाइन्छ । मधुमेहको समस्या केवल ठुला व्यक्तिहरुलाई मात्र नभएर साना बच्चाहरुलाई पनि धेरै देखिन थालेको छ । पछिल्ला केही वर्षमा बालबालिकामा मधुमेहको समस्या तीव्र रूपमा बढ्दै गएको छ। केहि बच्चाहरुलाई त मधुमेहका समस्या जन्मेदेखि नै हुन्छ । चिकित्सकहरूका अनुसार जीवनशैलीमा आएको परिवर्तन, असन्तुलित खानपान र शारीरिक गतिविधिमा कमी यसको प्रमुख कारण बनेका छन्।
मधुमेह भनेको के हो ?
मधुमेह (डायबेटिज) एउटा दीर्घकालीन रोग हो, जसमा शरीरले पर्याप्त इन्सुलिन उत्पादन गर्न सक्दैन् वा उत्पादित इन्सुलिनको सही तरिकाले उपयोग गर्न सक्दैन् । इन्सुलिन एक प्रकारको हर्मोन हो, जसले रगतमा चिनी (ग्लुकोज) को मात्रा नियन्त्रण गर्छ।यसका दुई मुख्य प्रकार छन् - टाइप १ र टाइप २ चिकित्सकहरूका अनुसार बालबालिकामा देखिने मधुमेहको प्रकार टाइप १ डायबेटिज हो, जुन प्रायः अटोइम्युन कारणले हुने गर्छ।
यसका कारण र लक्षणहरू
बालबालिकामा मधुमेह अटोइम्युन कारणले नै हुने गर्छ । यस बाहेक बालबालिकामा मधुमेह हुने प्रमुख कारण अस्वस्थ जीवनशैली, मोटोपन, अनियमित खाना, शारीरिक र मानसिक तनाव, फास्टफुडको अत्यधिक सेवन, शारीरिक निष्क्रियता र पारिवारिक इतिहास समावेश छन्।
प्रमुख लक्षणहरू यस प्रकार छन् :
- बारम्बार पिसाब लाग्ने
- अत्यधिक तिर्खा र भोक लाग्ने
- अचानक तौल घट्ने
- थकान महसुस हुने
- दृष्टि धमिलो हुने
- छाला सुख्खा वा घाउ ढिलो निको हुने
किन बढ्दैछ बालबालिकामा मधुमेह ?
मोबाइल, टेलिभिजन र कम्प्युटर जस्ता डिजिटल उपकरणको अत्यधिक प्रयोगले बालबालिकाको शारीरिक गतिविधिमा कमी आएको छ। त्यसमाथि बाहिरी खेल र व्यायामको कमीले तौल बढ्ने समस्या देखिएको छ, जसका कारण बालबालिकामा यस्तो रोग बढ्दै गएको छ।
उपचार के छ ?
डाक्टरहरूका अनुसार टाइप १ मधुमेह एक अटोइम्युन रोग हो, जसमा शरीरको प्रतिरक्षा प्रणाली (immune system) ले आफ्नै प्यान्क्रियासमा इन्सुलिन उत्पादन गर्ने कोषहरूलाई नष्ट गर्छ। यसको कारण बच्चाको शरीरले इन्सुलिन उत्पादन गर्न बन्द गर्छ।
यसको मुख्य उपचार इन्सुलिन थेरापी हो, जसमा बच्चाले जीवनभर इन्सुलिन इन्जेक्सन (interdermal injection) लिनुपर्ने हुन्छ। इन्सुलिन बिना बच्चाको रगतमा ग्लुकोजको मात्रा नियन्त्रण हुन नसक्ने भएकाले नियमित इन्सुलिन अनिवार्य हुन्छ। यदि बालबालिकामा मधुमेहको समस्या देखियो भने उनीहरुको हेरचाह कसरी गर्ने
- समयमा इन्सुलिन दिनु पर्छ ।
- समयमा ब्लड सुगर टेस्ट गराइरहनु पर्छ ।
- समयमा नै खाना खाने बानी बसाल्नु पर्छ ।
- कार्बोहाइड्रेट, सुगर, मिठाई, मैदाका परिकार, सोडा र जंक फूडहरु खान दिनु हुदैँन ।
- बालबालिकालाई पर्याप्त पानी पिउन लगाउनु पर्छ ।
- बालबालिकालाई नियमित व्यायाम गर्ने बानी बसाल्नु पर्छ ।
के बच्चाको मधुमेह पूर्णरूपमा निको हुन्छ ?
हालसम्मको उपचार पद्धतिमा मधुमेह पूर्णरूपमा निको पार्न सकिँदैन, तर समयमै थाहा पाएर सन्तुलित जीवनशैली अपनाउन सकेमा बच्चाले सामान्य जीवन बाँच्न सक्छ।
कस्तो अवस्थामा जटिल बन्छ ?
यदि मधुमेहको समयमै उपचार र निगरानी गरिएन भने, यसले बालबालिकाको मुटु, मिर्गौला, तथा आँखाको दृष्टिमा गम्भीर असर पार्न सक्छ। साथै, संक्रमणको खतरा पनि बढ्छ।
कसरी जोगाउने ?
- सन्तुलित र पोषिलो आहार खुवाउने
- मोबाइल र टिभीको प्रयोगमा सन्तुलन राख्ने
- दैनिक शारीरिक व्यायामको अभ्यास गराउने
- नियमित रूपमा स्वास्थ्य परीक्षण गराउने
- बच्चालाई मानसिक र भावनात्मक रूपमा सहयोग पुर्याउने
- पर्याप्त पानी पिउने
बालबालिकाको स्वास्थ्यमा मधुमेह एक गम्भीर चुनौतीका रूपमा देखिँदैछ। यो रोगबारे अभिभावक, शिक्षक र समाजले समयमै जानकारी लिएर सचेतता अपनाएमा बच्चाको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। मधुमेह भयो भन्दैमा आफ्ना बच्चालाई अरु भन्दा भिन्न व्यवहार गर्नु हुँदैन, किनभने उनीहरुलाई पनि सामान्य जिन्दगी बाँच्ने अधिकार हुन्छ ।
(न्यूरो कार्डियो एण्ड मल्टिस्पेशालिटी हस्पिटलका बालरोग विशेषज्ञ डा.सुरेश प्रसाद शाह सँग महिला स्वास्थ्यका लागि संगीता कलौनीले गरेको कुराकानी आधारित् )