काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले आफ्नो नर्सिङ्ग क्याम्पसमा प्रशिक्षक नियुक्तिसम्बन्धी सञ्चार माध्यमहरूमा आएका समाचारहरू सत्य तथ्यमा आधारित नरहेको भन्दै बुधबार अस्पतालले एक विज्ञप्ति जारी गरेको छ ।
नर्सिङ प्रशिक्षक नियुक्तिका विषयमा प्रश्न उठेपछि अस्पतालले बुधबार विज्ञप्ति जारी गर्दै नर्सिङ प्रशिक्षकको नियुक्ति नियमसंगत रुपमा प्रतिस्पर्धात्मक र पारदर्शी रुपमा भएको जानकारि दिएको हो।
अस्पतालका अनुसार २०७९ पुस २२ मा क्याम्पसले ४ जना प्रशिक्षकको माग गरेपछि प्राप्त दरखास्तहरूमध्येबाट छनोट समितिद्वारा २०८१ फागुन १२ र १३ मा अन्तर्वार्ता तथा शिक्षण प्रस्तुति लिई सिफारिस गरिएका प्रशिक्षकमध्ये साइक्याट्रिक हेल्थ नर्सिङ र कम्युनिटी नर्सिङ विषयका प्रशिक्षक नियुक्त गरिएको थियो। त्यसपछि २०८२ वैशाख २१ मा पेडियाट्रिक विषयको माग भएअनुसार प्रतिक्षा सूचीको वरियताका आधारमा २०८२ जेठ १ देखि उक्त विषयका प्रशिक्षक नियुक्त गरिई अध्ययन–अध्यापन भइरहेको अस्पतालले जनाएको छ।
केही सञ्चार माध्यमहरूले बिना प्रतिस्पर्धा नियुक्ति गरिएको भनी प्रकाशित गरेका समाचारहरू यथार्थमा आधारित नरहेका भन्दै सो विषयमा अस्पतालका निर्देशकका श्रीप्रसाद अधिकारीले विज्ञप्ती जारी गरेका हुन् ।
प्रसूतिगृह अस्पतालले विसं २०७३ साल देखि कुपण्डोलस्थित परोपकार नर्सिङ क्याम्पस सञ्चालन गरेको छ । सुरुका दिनमा प्रविणता प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन भएता पनि हाल उक्त कार्यक्रम स्थगित भई बीएमएस र बीएस्सी नर्सिङ कार्यक्रम सञ्चालन भईरहेको छ । कलेजले सो शैक्षिक कार्यक्रममा अध्यापन गराउन विभिन्न नर्सिङ विषयमा स्नातकोत्तर उत्तीर्ण नर्सिङ प्रशिक्षकहरुलाई करार सेवामा नियुक्त गरि अध्ययन् अध्यापन भई रहेको समेत विज्ञप्तीमा उल्लेख गरेको छ ।
