काठमाडौं । उपचारमा लापरबाहीका कारण २८ महिनाकी शिशु प्रशंसा गौतमको मृत्यु भएपछि उपभोक्ता अदालतले हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न डाक्टरलाई क्षतिपूर्ति आदेश दिएको छ।
न्यायाधीशत्रय रामप्रसाद शर्मा, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले हस्पिटल र डाक्टरलाई संयुक्त रूपमा १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको हो। फैसलाअनुसार अस्पताललाई ७० प्रतिशत र उपचारमा संलग्न चिकित्सक ३० प्रतिशत क्षतिपूर्ति तिराउने आदेश भएको हो। यसअनुसार अस्पतालले १ करोड १ लाख ८० हजार रुपैयाँ र उपचारमा संलग्न डाक्टरलाई जयदेव यादवले ४३ लाख ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ।
माघ २३ गते सामान्य रुघाखोकीका कारण अस्पताल लगिएको बच्चाको लापरवाहीपूर्ण उपचारका कारण स्वास्थ्य बिग्रँदै गएको र माघ २५ गते मृत्यु भएको थियो। पीडित परिवारले जिल्ला अदालतमार्फत १ करोड ९५ लाख क्षतिपूर्तिको मागसहित दायर गरेको मुद्दा पछि उपभोक्ता अदालतमा पुगेको थियो। अदालतले यो घटनालाई गम्भीर लापरबाहीका रूपमा मानेर ऐतिहासिक फैसला सुनाएको हो।