काठमाडौँ । जलवायु परिवर्तनका कारण गर्मी र वर्षात्को समयमा मात्र देखिने डेङ्गु सुदूरपश्चिममा बाह्रै महिना देखिन थालेको छ ।
जलवायु परिवर्तनका कारण बढी वर्षा हुने, खडेरी लाग्ने, वायु प्रदूषण जस्तो असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असमान्य वृद्धि हुनु, वर्षा चक्रको अनियमियताले डेङ्गुको सङक्रमण बढ्दै गएको छ ।
लामखुट्टेको जीवनचक्रमा मौसमले सघाउ पुर्याउँदा डेङ्गुको सङ्क्रमण चुनौतीका रूपमा देखापरेको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले बताए । उनका अनुसार “तापक्रम र वर्षाको चक्रले डेङ्गुको जोखिमलाई बढाएको छ”, उनले भने, “पहिला गर्मी र वर्षाका बेलामात्र डेङ्गुको सङक्रमण देखिन्थ्यो, अहिले चिसो महिनामा पनि डेङ्गु सङ्क्रमण देखिन थालेको छ, वातावरणीय तापक्रम बढ्दा लामखुट्टे बाह्रै महिना बाँच्ने वातावरण कायम भएको छ ।”
सन् २०२५ जनवरीदेखि जुनसम्ममा सुदूरपश्चिम प्रदेशका एक सय ६७ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । सोही अवधिमा सबैभन्दा बढी डडेल्धुरामा ३४ जनमा र त्यसपछि कैलालीमा ३१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । कञ्चनपुरमा २९, डोटीमा २५, अछाममा २४, बझाङमा ११, बाजुरामा ११ र दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण देखापरेको छ । बैतडीमा भने जनवरीदेखि जुन महिनाको अहिलेसम्म डेङ्गुका बिरामी देखापरेका छैनन् ।
मनसुन सुरु भएसँगै डेंगुको प्रकोप बढ्ने भएकाले सतर्कता अनाउन जोशीले सुझाएका छन् । वर्षातको समयमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजनन् अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने उच्च जोखिम रहने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० जनाएको छ । डेंगु सार्ने लामखुट्टेले बिहान र दिउँसोका समयमा बढी टोक्ने भएकाले त्यसबेला लामो कपडा लगाउने, सुत्दा झुलको प्रयोग गर्ने, पानी जम्न नदिने, हप्तामा एकपटक घर वरपरका ट्याङ्की, डब्बा, टायरलगायतमा जमेको पानी फाल्ने कार्य गर्नुपर्ने, विद्यालयमा डेंगुसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव स्वास्थ्यकर्मीको छ ।