काठमाडौं । उपचारमा लापरबाही भएपछि उपभोक्ता अदालतले ग्राण्डी सिटी अस्पताल र उपचारमा संलग्न डाक्टरलाई क्षतिपूर्ति आदेश दिएको छ।
अदालतले कान्तिपथस्थित ग्राण्डी सिटी र डाक्टरलाई ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो। उक्त फैसला उपभोक्ता अदालतका अध्यक्ष रामप्रसाद शर्मा तथा सदस्यहरु गेहेन्द्रराज रेग्मी र आन्नदराज पोखरेलको संयुक्त इजलासले गरेको हो।
पीडित वर्षा भण्डारीको खुट्टाको तिघ्राको पछाडिको भागले दुःख दिएपछि वर्षा को खुट्टामा रहेको बोसो निकालेर प्लाष्टिक सर्जरी गरिएको थियो। वर्षाले दायर गरेको मुद्दा अनुसार चिकित्सकले दुईपटक शल्कृया गरेपनि निको हुनुको साटो झन् संक्रमण भएर थप पीडा बढेको भन्दै उनले गत चैत ११ गते उपभोक्ता अदालतमा मुद्दा दायर गरेकी थिइन्। उनले ३ करोड १७ लाख रुपैयाँ क्षतिपूर्तिको माग गरेकी थिइन्। उनले भोग्नुपरेको मानसिक, शारीरिक र आर्थिक क्षतिको आधारमा अदालतले सो क्षतिपूर्ति निर्धारण गरेको हो।
अदालतको फैसला अनुसार क्षतिपूर्ति रकममध्ये ७० प्रतिशत अर्थात ४० लाख ३ हजार ३०० रुपैयाँ डाक्टर डा संजिव त्रिपाठी र ३० प्रतिशत अर्थात १७ लाख १५ हजार ७०० रुपैयाँ ग्राण्डी हस्पिटलले बेहोर्नुपर्ने हुन्छ।