काठमाडौँ । चिकित्सकीय लापरबाहीका मुद्दामा उपभोक्ता अदालतले डाक्टरलाई क्षतिपूर्ति तिराउने आदेश दिएपछि नेपालको चिकित्सा संघले आपत्ति जनाएको छ ।
संघले प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकीय अभ्यास सम्बन्धि विषयको मुद्दामा उपभोक्ता अदालतले कारवाहीको निर्णय गरेको प्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘चिकित्सा पेशा एक अत्यन्त संवेदनशील, वैज्ञानिक र नैतिक सेवा हो जसको मूल्याङ्कन अन्य व्यवसायजस्तो गरेर गरिएको निर्णय अस्वीकार्य रहेको विज्ञप्तिमा उल्लेख छ, । विज्ञप्तिमा भनिएको छ, ‘उपभोक्ता अदालतले यस्तो निर्णयको पुनरवलोकन गनुपर्छ र स्वास्थ्य मन्त्रालय तथा सरोकारवाला निकायले तत्काल ध्यान दिनुपर्छ’ ।
संघका अनुसार चिकित्सकहरूले सुरक्षित वातावरणमा काम गर्न नपाए सेवामा असर पर्ने पनि चेतावनी दिएका छन् । ‘जनस्वास्थ्यमा असर पार्ने गरी चिकित्सकहरूलाई अनावश्यक डरको वातावरणमा काम गर्न बाध्य तुल्याउने कुनै पनि प्रयास अस्वीकार्य हुनेछ,’ समेत उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सकीय सेवा कुनै सामान वा उपभोक्ता वस्तु होइन। यसलाई सामान्य व्यापारिक ढाँचामा हेर्नु गम्भीर त्रुटि हो। उपचारमा देखिने जटिलता वा प्रतिकूल असरका लागि चिकित्सकलाई कारवाही गर्नु न्यायसंगत होइन। यस्ता कार्यले सम्पूर्ण स्वास्थ्य प्रणालीमा अविश्वास फैलाउने चिकित्सकलाई त्रसित पार्ने काम गर्छ ।’
संघले मिति २०८२/०३/१५ गते विभिन्न स्वास्थ्य सरोकारवालासँग छलफल कार्यक्रम आयोजना गरेको तथा मिति २०८२/०३/१६ गते अस्पताल प्रमुखहरू, प्राईभेट मेडिकल तथा डेन्टल कलेज संघ, अफिन, चिकित्सक समाज लगायतसँग बृहत छलफल गरेको जानकारी दिएको छ।
संघले यदि नेपाल सरकारद्वारा उपयुक्त कदम नचालिएमा नेपाल चिकित्सक संघ सशक्त आन्दोलनमा जान बाध्य हुनेछ र सो का लागि तयारी अवस्थामा रहन समस्त चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यसै विज्ञप्ति मार्फत आह्वान गर्दछ ।

